फ्रेन्च लिग वानमा लिग लिडर पिएसजीले सानदार जित निकालेको छ। आइतबार राति भएको खेलमा स्टार खेलाडीद्वय लियोनल मेसी र किलियन एमबाप्पेले गोल गरेपछि पिएसजीले डिफेन्डिङ च्याम्पियन लिलेमाथि ५–१को सानदार जित निकालेको हो।
खेलमा मेसी र एमबाप्पेले समान १ गोल गर्दा डानिलो परेराले २ र पर्सनल किम्पेम्बेले १ गोल गरेका थिए । लिलेका स्भेन बोटमनले गोल गरेका थिए।
१०औं मिनेटमा परेराको गोलमा पिएसजीले अग्रता लियो । २८औं मिनेटमा बोटमनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि ३२औं मिनेटमा किम्पेम्बेले गोल गर्दै पिएसजीलाई पुनः अग्रता दिलाए ।
३८औं मिनेटमा मेसीले गोल गरेपछि पहिलो हाफमा पिएसजीले ३–१को अग्रता लियो । ५०औं मिनेटमा परेराले दोस्रो गोल गर्दा पिएसजी ४–१को सहज अवस्थामा आयो । ६७औं मिनेटमा एमबाप्पेले गोल गरेपछि पिएसजीले ५–१को सहज जित निकाल्यो ।
जितपछि शीर्ष स्थानको पिएसजीले २३ खेलमा ५६ अंक जोडेको छ। र, उसले शीर्ष स्थानमा १३ अंकको फराकिलो अग्रता बनाएको छ। लिले भने ३२ अंकसहित ११औं स्थानमा छ।