अर्जेन्टिनी स्टार लियोनल मेसीले क्लब र टिममेटसँग माफी मागेका छन्। क्लबको अनुमति नलिइ साउदी अरेबिया भ्रमणमा गएपछि पिएसजीले मेसीलाई २ साता निलम्बन गरेको छ।
क्लबले निलम्बन गरेको दुई दिनपछि मेसीले साउदी भ्रमणबारे जानकारी नगराएकोमा क्लब र टिम मेटसामू माफी मागेका हुन्।
गत आइतबार लोरियन्टसँग ३–१ गोलले पराजित भएपछि अभ्यासमा सामेल हुने अपेक्षा गरिए पनि उनी साउदी पुगेका थिए। मेसी साउदीको पर्यटन बोर्डको ब्रान्ड एम्बासडर हुन्।
मेसीले इन्सटाग्राममा मार्फत माफी माग्दै अघिल्लो साता जस्तै खेल सकिएपछि बिदा पाउने विश्वासमा साउदीको भ्रमण योजना बनाएको र रद्ध गर्न नमिल्ने अवस्था रहेको उल्लेख गरेका छन्।
शीर्ष स्थानमा रहेको पीएसजी लिग वानका पाँच खेल बाँकी रहँदा पाँच अंकको अग्रता बनाउन सफल छ।