सन् २०१९ फिफा वर्ष खेलाडीका लागि दुई स्टार खेलाडी बार्सिलोनाका लियोनल मेसी र युभेन्टसका क्रिस्टियानो रोनाल्डोबीच भिडन्त हुने भएको छ । फिफाले बुधबार बेलुकी सार्वजनिक गरेको उत्कृष्ट १० को सूचीमा मेसी र रोनाल्डो स्थान बनाउन सफल भएका छन् ।
रोनाल्डो र मेसीसँगै लिभरपुलका भर्गिल भान डाइक, मोहम्मद सलाह र साडियो माने उत्कृष्ट १० को मनोनयनमा स्थान बनाउन सफल भएका छन् । यस्तै, चेल्सीको इडेन हाजार्ड, टोटनह्यामका ह्यारी केनका साथै आयाक्सका फ्यांकी डे जोङ र म्याथिज डे लिट पनि उत्कृष्ट १० सूचीमा परेका छन् ।
यसैगरी पेरिस सेन्ट जर्मेनका किलियन एम्बाप्पे पनि फिफा वर्ष खेलाडीको उत्कृष्ट १० को मनोनयनमा परेका छन् । यता विश्वकै महँगा खेलाडी नेमार भने लागतार दास्रो वर्ष फिफा वर्ष खेलाडीको मनोनयनमा पर्न असफल भएका छन् ।
बुधबार सार्वजनिक भएको उत्कृष्ट १० को मनोनयनमा युरोपियन च्याम्पियन लिभरपुलका सर्वाधिक ३ खेलाडी परेका छन् । यस्तै, अविश्वसनीय रुपमा च्याम्पियन्स लिगको सेमिफाइलनको यात्रा तय गरेको आयाक्सका २ खेलाडी परेका छन् ।
यस्तै इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटीका कुनै पनि खेलाडी मनोनयनमा पर्न असफल भए । गत वर्षका फिफा वर्ष खेलाडी रियल म्याड्रिडका लुका मोड्रिच पनि मनोनयनमा पर्न सकेनन् ।
यस वर्ष रोनाल्डो, भान डाइक र मेसीलाई फिफा वर्ष खेलाडीको प्रमुख दाबेदारका रुपमा हेरिएको छ । अघिल्लो सिजन रियल म्याड्रिड छाड्दै युभेन्टस गएका रोनाल्डोले ३ ट्रफी जिते । उनले सिरि ए, सुपर कोपा इटालियाना र पोर्चुगलबाट युइएफए नेसन्स लिग जितेका थिए ।
यस्तै, भान डाइकले लिभरपुललाई च्याम्पियन्स लिग उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले प्रियिमर लिगमा पनि उत्कृष्ट प्रदर्शन गर्दै प्रिमियर लिगको सर्वोत्कृष्ट खेलाडी बनेका थिए ।
मेसीले बार्सिलोनालाई ला लिगा उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका थिए भने बार्सालाई च्याम्पियन्स लिगको सेमिफाइलनसम्म पु¥याएका थिए । मेसीले यो सिजन युरोपियन गोल्डेन बुट पनि जितेका छन् ।
सन् २०१० अघि फिफा प्लेयर अफ दी इयरको नामबाट दिँदै आएको अवार्ड २०१० पछि ६ वर्ष फ्रान्स फुटबलको बालोन डे’ओरसँग मर्च गरेर फिफा बालोन डे’ओरको नामबाट दिइएको थियो । त्यसपछि सन् २०१६ बाट बालोन डे’ओर र फिफा अवार्ड छुट्टिएका थिए ।
बालोन डे’ओरसँग छुट्टिएपछि लागतार दुई वर्ष फिफा अवार्ड रोनाल्डोले पाएका थिए भने अघिल्लो वर्ष लुका मोड्रिचले पाएका थिए ।