विश्वकपमा मेसी र रोनाल्डो भिड्ने सम्भावना

फुटबलको महाकुम्भ विश्वकपको समूह चरणका खेल लगभग सकिने अवस्थामा छन् । विश्व फुटबलका अहिलेका सबैभन्दा चर्चित र ठूला खेलाडी क्रिस्टियानो रोनाल्डोलियोनल मेसी सधैंझैं यो विश्वकपमा पनि चर्चाको शिखरमा रहेका छन् ।
समूह चरणका आफ्ना सबै खेल खेलिसकेका रोनाल्डो र मेसी दुवैले आफ्ना देशलाई विश्वकपको नकआउट चरणमा पनि पुर्‍याइसकेका छन् । समूह ‘बि’मा रहेको रोनाल्डोको देश पोर्चुगल र समूह ‘डी’मा रहेको मेसीको देश अर्जेन्टिना दुवै समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् ।

दुवै देश नकआउट समिकरणको पोल ‘ए’मा परेका छन् । असार १६ गते बेलुकी ७ः४५ बजे काजान एरेनामा हुने नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिनाले फ्रान्सको सामना गर्नेछ । त्यस्तै, पोर्चुगलले पनि सोही दिन राति ११ः४५ बजे फिष्ट स्टेडियममा उरुग्वेको सामना गर्दैछ । मेसी र रोनाल्डो दुवैले क्वार्टरफाइनलसम्मको यात्रा तय गर्न सक्लान् वा नसक्लान् एकैदिन टुंगो लाग्ने छ ।

यदी, फ्रान्सविरुद्धको खेलमा अर्जेन्टिना विजयी भएमा अर्जेन्टिना क्वार्टरफाइनल पुग्नेछ । त्यस्तै, उरुग्वे पोर्चुगलसँग पराजित भएमा पोर्चुगल क्वार्टरफाइनलमा पुग्नेछ । नकआउट चरणको एउटै पोलमा परेका दुवै देश यदि आफ्ना खेलमा विजयी भएमा यि दुईको भेट क्वार्टरफाइनलमा हुनेछ ।

विश्व फुटबलको वर्तमान समयका दुई उत्कृष्ट खेलाडि मेसी र रोनाल्डो फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप फुटबलको क्वार्टरफाइनलमा आमनेसामने हुनेछन् । सम्भवतः त्यो खेल फुटबल इतिहासमा सबैभन्दा बढी हेरिएको र सबैभन्दा चर्चा गरिएको खेल बन्नेछ ।

इन्टरनेटमा दिनहुँ दुईमध्ये को उत्कृष्ट भनेर दुवैका समर्थकबिच घम्साघम्सी हुने गरेको छ । यदि मेसी र रोनाल्डोको विश्वकपमा भिडन्त भएमा इन्टरनेटमा शितयुद्ध वा इन्टरनेटको भाषमा भन्दा ‘किबोर्ड युद्ध’ चल्नेछ भन्दा अत्युक्ति नहोला ।

मेसीको फुटबल करियरको इन्फोग्राफिक्स हेर्न यहाँ क्लिक गर्नुहोस 

रोनाल्डोको फुटबल करियरको इन्फोग्राफिक्स हेर्न यहाँ क्लिक गर्नुहोस