छैठौं पटक मेसी बने फिफा वर्ष खेलाडी

बार्सिलोनाका अर्जेन्टाइन स्टार स्ट्राइकर लियोनल मेसीले छैठौं पटक फिफा वर्ष खेलाडी अवार्ड जितेका छन् । योसँगै मेसीले फिफा वर्ष खेलाडी अवार्ड सर्वाधिक जित्ने रेकर्ड बनाए । मेसीपछि युभेन्टसका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले यो अवार्ड ५ पकट जितेका छन् ।

पछिल्लो एक दशक फिफा अवार्डमा मेसी र रोनाल्डोकै हालिमुहाली छ । छैठौं पटक फिफाको उत्कृष्ट खेलाडी बन्ने क्रममा मेसीले रोनाल्डो र लिभरपुलका डच डिफेन्डर भिर्गिन भान डाइकलाई पछि पारे ।

अघिल्लो सिजन यो अवार्ड रियल म्याड्रिडका क्रोएसियन मिडफिल्ड लुका मोड्रिचले जितेका थिए । अघिल्लो महिना भएको युईएफए बेस्ट प्लेयर अवार्ड भने मेसी र रोनाल्डोलाई पछि पार्दै भान डाइकले जितेका थिए ।

बार्सिलोनाले अघिल्लो सिजन ला लिगा उपाधि मात्र जिते पनि मेसीले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले युरोपियन गोल्डेन बुट पनि जितेका थिए । बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइलनबाटै बाहिरिए पनि मेसीको प्रदर्शन उत्कृष्ट थियो । उनी च्याम्पियन्स लिगका पनि सर्वाधिक गोलकर्ता हुन् ।

यसअघि मेसी सन् २००९ देखि १२ सम्म लगातार ४ वर्ष फिफा वर्ष खेलाडी बनेका थिए भने सन् २०१५ मा पनि मेसीले यो अवार्ड जितेका थिए । लगातार ४ पटक यो अवार्ड जित्ने मेसी एक्ला खेलाडी हुन् ।