मेसीले बार्सिलोना छाड्दा भावुक हुँदै फ्यानहरुलाई दिए यस्तो सन्देश

अन्ततः फुटबलले यस्तो दिन देख्यो जसको कसैले कल्पना गरेका थिएनन्। लियोनल मेसीले बार्सिलोना छाडे।

आइतबार एक कार्यक्रम गर्दै बार्सा छाड्ने जानकारी दिए। बार्सिलोनाले भने केही दिन अगावै मेसी क्लबमा नरहने घोषणा गरेको थियो।

मेसीले बार्सा छाड्ने घोषणा गर्दैगर्दा आँसु थाम्न सकेनन्। स्टेजमै आँसु झारेर रोए। उनीसँगै रोए उनका करोडौं समर्थक।

जाँदाजाँदै मेसीले आफ्ना फ्यानहरुका लागि सन्देश छाडेका छन्। त्यहाँ उनले केही मनका कुरा गरेका छन् भने केही हल्लाहरुको यथार्थ बयान गरेका छन्।

मेसीले बार्सा छाड्नु अगाडि दिएको प्रतिक्रियाको भावानुवादः

म बार्सिलोनामै रहन्छु भनेर ढुक्क थिएँ। बार्सा मेरो घर हो। हाम्रो घर। मेरो बार्सामै बस्ने योजना थियो। मलाई यहीँ बस्ने मन छ।

तर, आज मैले सबैसँग विदा माग्नुपर्ने भएको छ। आफ्नो सिंगो जीवन यहीँ बिताएपनि आज सबैथोक छाडेर जानुपर्ने भएको छ।

त्यसका लागि मैले नयाँ सम्झौतामा सहमति पनि जनाइसकेको थिएँ। सबै कुरा मिलिसकेको थियो। मलाई बस्न मन थियो, छुट्टि सकेर फर्किएपछि त्यसैअनुसार सहमति भएको थियो। हस्ताक्षर गर्न मात्र बाँकी थियो।

तर… अन्तिममा आएर लापोर्ताले भने कि म बार्सामा बस्न मिल्दैन। ला लिगाको केके नियम छ, अब सम्झौता गर्न नमिल्ने भयो भने।

गत वर्ष जब मैले ब्यूरोफ्याक्स पठाएको थिएँ, म बार्सा छाड्ने मनस्थितिमा थिएँ। तर, यसपटक म यहीँ बस्छु भनेर ढुक्क थिएँ। मेरो परिवार पनि यसमा खुशी थियो। बार्सा हाम्रो घर हो। हामी सबैले चाहेको यही थियो। तर, आज मैले ‘गुडबाई’ भन्नुपर्ने दिन आएको छ।

मलाई लागेको थियो सबै कुरा टुंगो लागिसक्यो। सबै कुरामा सहमति पनि भइसकेको थियो। तर, अन्तिममा गएर ला लिगाका कारण बार्साबाट खेल्न नमिल्ने भयो। म यतिमात्र भन्न चाहन्छु कि मैले बार्सामा बस्नका लागि मेरो तर्फबाट सक्नेजति गरेँ।

मैले आजसम्म कसैलाई ढाँटेको छैन, झुक्याएको छैन। सधैं साँचो कुरा मात्र गरेको छु।

बार्साबाट डेब्यू गरेको दिन मेरो जीवनकै सबैभन्दा खुसीको दिन थियो। मेरो सबैभन्दा ठूलो सपना पुरा भएको थियो त्यो दिन। म अहिले जे छु सबै त्यही दिन सुरू भएको थियो।

तर, आजको यो दिन मेरो करियरकै सबैभन्दा कठिन समय हो। मैले मेरो करियरमा धेरै अप्ठ्यारा समय देखेको–भोगेको छु। तर, त्यतिबेला मसँग त्यसको समाधान हुन्थ्यो। म ट्रेनिङमा गएर मैदानमा त्यसको रिस पोख्न सक्थेँ, फुटबलबाट बदला लिन सक्थेँ। तर अब मसँग त्यो विकल्प छैन, मैले क्लब छाडेर जानुपर्ने भएको छ।

बार्सा छाड्ने पक्का भएपनि अब कहाँ जान्छु भन्ने टुंगो लागेको छैन। धेरैतिरबाट प्रस्ताव आइरहेका छन्। पिएसजीबाट पनि आएको छ। कुरा भइरहेको छ तर फिक्स भएको छैन। हेरौं, के निर्णय हुन्छ।

केही समयअघि पिएसजीका खेलाडीहरुसँगको तस्बिर बाहिर आएको थियो। तर, मैले त्यो तस्बिर मेरा साथीहरुसँग लिएको हुँ। त्यसमा पिएसजी कनेक्सन केही छैन, त्यो संयोगमात्र हो।

हामी छुट्टीमा थियौं। त्यही क्रममा हामीले त्यो फोटो खिचेका हौं। त्यतिबेला उनीहरुले ‘पिएसजी आइज’ भनेर जिस्काएका चाहिँ थिए। तर, त्यो मजाकका रुपमा मात्र भनेका थिए।

म त्यतिबेला जसरी पनि बार्सामै बस्ने सोचमा थिएँ। त्यसैले छुट्टिबाट फर्किनासाथ बार्सासँग नयाँ सहमति गरेको थिएँ। म बार्साबाट खेल्नका लागि यतिसम्म इच्छुक थिएँ कि आधा तलब घटाउन पनि राजी भएँ।

अघिल्लो सम्झौताभन्दा ५० प्रतिशत तलब कटौती गरेर पनि बार्सामै बस्छु भनेको थिएँ। तर कतै भने बार्साले ३० प्रतिशत तलबमा बस्नुपर्ने शर्त राखेको पनि समाचार आए। त्यो झुट हो।

म ५० प्रतिशत तलब घटाएर बस्न राजी भएपछि न त बार्साले मसँग थप केही शर्त राखेको थियो न त अध्यक्ष लापोर्ताले नै। सबैजना निकै खुशी भएका थिए। म पनि खुसी थिएँ।

बार्सा म पनि क्लबमै बसुँ भन्ने चाहन्थ्यो। म पनि क्लब छाड्न चाहन्नथेँ। सबैले चाहेको त्यही थियो। तर, सधैं चाहेको जस्तो कहाँ हुन्छ र!

म फेरि पनि तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु कि मैले क्लबमा बस्नका लागि हरसम्भव प्रयास गरेको छु। मलाई थाहा छ मैले सक्दो गरेको छु। तर, अब यो सम्भव रहेन।

म बार्सा छाड्दैछु।

गुडबाई!

यो पनि पढ्नुहोस्ः

मेसीलाई यसरी विदाई गरे बार्साका र अन्य खेलाडीले..

‘मलाई बार्साको असाध्यै माया लाग्छ’ भन्दै स्टेजमै रोए मेसी

गहभरि आँसु पार्दै मेसीले छाडे बार्सा, पिएसजी जान्ने पक्का

मेसीले बार्सिलोनाबाट कति ट्रफी र अवार्ड जिते?