स्पेनिस स्ट्राइकर अल्भारो मोराटालाई इटालियन क्लब युभेन्ट्समा अनुबन्ध भएका छन् । युभेन्ट्सले मोराटालाई क्लब एट्लेटिको मड्रिडबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।
२७ वर्षीय मोराटाले यस सिजनको अन्त्यसम्मका लागि सिरी ए क्लबसँग सम्झौता गरेका छन् । युभेन्ट्सले मोरोटालाई अनुबन्ध गर्न ला लिगा क्लबलाई १० मिलियन युरो तिर्नेछ ।
यस्तै सिरी ए च्याम्पियन युभेन्ट्सले मोरोनाको लोन अवधी एक वर्ष बढाउन सक्नेछ वा उनलाई किन्न पनि सक्नेछ । सम्झौता अनुसार युभेन्ट्सले मोराटालाई स्थायी खेलाडी बनाउने विकल्प समेत छ तर त्यसका लागि ४४ मिलियन युरो तिर्नुपर्नेछ ।
मोराटा दोस्रो पटक युभेन्ट्समा आबद्ध भएका हुन् । यसअघि उनी सन् २०१४–१६ सम्म दुई सिजन युभेन्ट्समा बिताएका थिए । रियलबाटै युभेन्ट्स गएका उनी २ सिजनपछि पुनः रियलमै फर्किएका थिए । युभेन्ट्समा २ सिजन बिताउँदा उनले ९३ खेलमा २७ गोल गरेका थिए ।
सन् २०१७मा रियल मड्रिडबाट चेल्सी गएका मोराटा सन् २०१९मा लोनमै एट्लेटिको आएका थिए । गत जुलाईमा मात्र उनले एट्लेटिकोसँग स्थायी सम्झौता गरेका थिए । मोराटाले गत सिजन एट्लेटिको मड्रिडका ६१ खेलमा २२ गाल गरेका थिए ।
मोरोटा रियल र एट्लेटिको मड्रिड २ पटक छाड्ने पहिलो खेलाडी बनेका छन् । उनी १० वर्षको उमेरमा एट्लेटिको छाड्दै रियलमा आबद्ध भएका थिए । उनी रियलबाट चेल्सी र युभेन्ट्स गएका थिए ।