हाफिज र दिनेश राजवंशीको गोलमा मनाङले फ्रेन्ड्सलाई हरायो

काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ। लिगअन्तर्गत चौथो चरणको पहिलो खेलमा मनाङले फ्रेन्ड्स क्लबमाथि २–०को जित निकाल्यो।

शुक्रबार दिउँसो दरशथ रंगशालामा भएको खेलमा मनाङलाई जित दिलाउन विदेशी खेलाडी ओलावाले हाफिज र दिनेश राजवंशीले गोल गरेका थिए।

खेलमा फ्रेन्ड्सलाई दबाबमा राखेपनि मनाङलाई खेलमा अग्रता लिग ४१औं मिनेटसम्म कुर्नुपर¥यो । उसका लािग ओलावाले हाफिजले कप्तान अन्जन विष्टको पासमा हेडमार्फत गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए।

७३औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकमा दिनेश राजवंशीले हेडमार्फत गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाए। कप्तान प्रकाश बुढाथोकी र विदेशी खेलाडी जमन एन्टोनी विना मैदान उत्रिएको फ्रेन्ड्सले मनाङको पोस्टमा गतिलो आक्रमण गर्न सकेन ।

तेस्रो जितपछि अपराजित मनाङ ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । दोस्रो हारपछि फ्रेण्ड्सको ४ खेलबाट २ अंक मात्र छ र रेलिगेसनको दबाब बढेको छ।