मनाङ मर्स्याङ्दी मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार धनगढी रंगशालामा भएको पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन क्लब हिमालयन शेर्पालाई पेनाल्टी सुटआउटमा ४–२ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो।
खेलको निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा मनाङका अञ्जन विष्ट, रुपेश केसी, मौसा अबागाना र पुजन उपरकोटीले गोल गरे ।
यता, हिमालयन शेर्पाका विदेशी खेलाडीद्वय उर्लिच सिवे र पिस्टन मुटाम्बाले मात्र गोल गर्न सके । उसका विशाल श्रेष्ठ र विवेक पण्डित गोल गर्न असफल भए।
खेलमा अग्रता पनि मनाङले नै लियो । २८औं मिनेटमा शिशिर लेखीले मनाङलाई अग्रता दिलाए । तर, ८० औं मिनेटमा सुरेश कुमालले गोल गर्दै हिमालयनलाई खेलमा फर्काए। त्यसपछि गोल नहुँदा खेल पेनाल्टीमा गएको थियो।
मनाङले उपाधिका लागि बिहीबार हुने बागमती युथ क्लब युथ क्लब र फ्रेन्ड्स क्लबबीचको विजेतासँग खेल्नेछ ।
सर्वाधिक पुरस्कार राशीको प्रतियोगितको विजेताले २१ लाख र उपविजेता १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।