तनावपूर्ण खेलमा मनाङ र मच्छिन्द्रले बराबरी खेले

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएको डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी र मच्छिन्द्र क्लबबीचको तनावपूर्ण खेल बराबरीमा सकिएको छ । सोमबार दशरथ रंगशालामा भएको उपाधिका दुई दाबेदार टिम बीचको खेल २–२ गोलको बराबरीमा सकिएको हो ।

खेलको ९० मिनेट सौहार्दपूर्ण भएपछि खेल सकिएलगत्तै भने दशरथ रंगशाला तनावपूर्ण बनेको थियो । रेफ्रिले खेल सकिनै लाग्दा जगजित श्रेष्ठले मच्छिन्द्रका दीपक राईलाई धक्का दिएपछि झगडा सुरु भएको थियो । बेन्चमा रहेका अर्का खेलाडी अशोक बरालले खेलाडीलाई छुट्याइरहेका देवेन्द्र तामाङलाई बेन्चबाट गएर हिर्काएपछि झगडा थप चर्किएको थियो ।

त्यसपछि मनाङका रञ्जन विष्ट र मच्छिन्द्रका रञ्जित धिमाल पनि झगडामा उत्रिएका थिए । केही बेल प्रहरी र दुवै क्लबका खेलाडी तथा अफिसियलले झगडा साम्य बनाएका थिए ।

खेलमा मनाङले दोस्रो मिनेटमा अञ्जन विष्टको क्रसमा फेमी जोसु अमेवामीको गोलमार्फत १–० को अग्रता लिएको थियो । खेलको ४६औँ मिनेटमा सोमिडेको क्रसमा सुजल श्रेष्ठले मच्छिन्द्रलाई १–१ को बराबरीमा ल्याए ।

मच्छिन्द्रलाई ८१औँ मिनेटमा एडिलाजा सोमिडोले २–१ को अग्रता दिलाए । अभिषेक रिजालको लामो पासमा सोमिडोले गोलरक्षक अघि आएको मौकामा हेडिङ गोल गरे । मनाङका विस्थापन्न खेलाडी विमल रानाले २–२ को बराबरी गोल गरे ।

बराबरीपछि पनि मनाङ ११ अंकका साथ शीर्ष स्थानमा यथावत नै छ । मनाङले ६ खेलमा ३ जित र २ बरारबी खेलेको छ । यता, ३ जित २ बराबरी नै खेलेको मच्छिन्द्र १० अंकका साथ दोस्रो स्थानमा छ । अघिल्लो सिजन लिगको पुछारमा रहेकाले यसपटक मच्छिन्द्रको १ अंक काटिएको हो ।