घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजमा नेपालले क्लिन स्विप गरेको छ। नामिबिया र स्कटल्यान्ड सम्मिलित सिरिजमा नेपालले चारवटै खेल जित्यो सिरिज क्लिन स्विप गरेको हो।
सोमबार कीर्तिपुरस्थित टियू मैदानमा स्टकल्यान्डलाई हराएपछि प्रशिक्षक मोन्टी देशाईले खेलाडीलाई दिएको जिम्मेवारी सही तरिकाले प्रयोग गर्दा सफलता मिलेको बताए । घरेलु दर्शकको उल्लासपूर्ण साथले खेलाडीले घरेलु मैदानमा पसिना बगाएर यादगार श्रृंखला बनाउँदा आफू पनि खुसी भएको देशाईले प्रतिक्रिया दिए ।
प्रशिक्षकको रुपमा नियुक्त भएपछि देशाईले आफूले खेलाडीमा सम्भावना देखेको र उनीहरुको खुबीलाई निखार्ने प्रयासमा मिलेको सफलतामा आफू खुसी भएको बताएका थिए । नेपाली खेलाडी पनि प्रतिष्पर्धात्मक खेल खेल्न सक्छन् भन्ने विश्वास दिएको पनि प्रशिक्षक देशाईको भनाइ थियो।
मंगलबार सम्पन्न श्रृंखलाको अन्तिम खेलमा कप्तान पौडेल र करण केसीले ७५ रनको साझेदारी गरेपछि नेपालले विश्वकप क्रिकेट लिग–२ को च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित निकालेको हो।
अब लिग–२ श्रृंखला अन्तर्गत खेलका लागि नेपाल यूएई भ्रमण गर्ने तालिका छ । भ्रमणमा नेपालले युएई र पपुवा न्युगिनीसँग श्रृंखला खेल्नेछ । लिग–२ मा नेपाल २८ खेलबाट १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ८ खेलमा कम्तीमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम हुनेछ।