मोरक्को ३६ वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा क्यानडामाथि २–१को जित निकाल्दै मोरक्को समूह विजेताका रुपमा नकआउट पुगेको हो।
यसअघि उ १९८६मा नकआउट चरण पुगेको थियो। नकआउटमा उसले समूह ईको उपविजेता स्पेनसँग खेल्ने छ।
अल थुमाना स्टेडियममा खेल सुरु भएको चौथो मिनेटमै मोरक्कोले अग्रता लिएको थियो । हाकिम जियाचले गोलकिपरको गल्तिको फाइदा उठाउँदै गोल गरेका थिए । २३औँ मिनेटमा युसेफ एन नसिरीले टिमका लागि दोस्रो गोल थपे । उनले असरफ हकिमीको उत्कृष्ट क्रसमा गोल गरेका हुन् ।
४० औँ मिनेटमा मोरक्कोका नायफ अगेर्डले आत्मघाती गोल गरेपछि क्यानडा खेलमा फर्किएको थियो । यो जारी विश्वकपमा भएको एक सयौँ गोल हो । यस्तै कतारमा भएको यो पहिलो आत्मघाती गोल पनि हो ।
यसअघिनै प्रतियोगिताबाट बाहिरसकेको क्यानडाले दोस्रो हाफमा गोल फर्काउन नसक्दा मोरक्कोले तीन अंक जोड्यो ।
अघिल्लो विश्वकपमा एक खेल पनि नजितेको मोरक्कोले यो पटक भने साविक उपविजेता क्रोएसिया र दोस्रो वरियताको बेल्जियमलाई पनि पछि छोड्यो । तीन खेलमा मोरक्कोले सात र क्रोएसियाले पाँच अंक जोड्यो ।
जारी कतार विश्वकपमा सेनेगल पछि प्रि–क्वाटरफाइनल पुग्ने मोरक्को दोस्रो अफ्रिकन टोली हो ।