श्रीलंकन भेट्रान फास्ट बलर लासिथ मालिंगाले यो सिजनको इन्डियन प्रिमियर लिग (आईपिएल) नेखेल्ने भएका छन् । मुम्बई इन्डियन्सका मालिंगाले व्यक्तिगत कारणले युएईमा हुने आईपिएल नखेल्ने भएका हुन् ।
मालिंगाको बुबा बिरामी रहेकाले मालिंगाले आईपिएल नखेल्ने निर्णय गरेका हुन् । बुबाको शल्यक्रिया गर्नुपर्ने भएकोले मालिंगा श्रीलंकामा आफ्नै बुबाको साथमा रहने निर्णय गरेका हुन् ।
मालिंगा मुम्बई इन्डियन्सका मात्रै होइन, आइपिएलकै सबैभन्दा सफल बलर हुन् । मालिंगा अघिल्लो सिजन फाइलनको अन्तिम ओभरमा उत्कृट बलिङ गर्दै मुम्बईलाई च्याम्पियन बनाएका थिए ।
मुम्बई इन्डियन्सका मालिक आकाश अम्बानीले मालिंगा मुम्बई टिमको लेजेण्ड र खम्बा रहेको बताउँदै उनलाई टिमले मिस गर्ने बताएका छन् । तर, यस्तो अवस्थामा मालिंगा परिवारसँगै रहनु उचित भएको अम्बानीले बताए ।
सेप्टेम्बर १९ देखि युएईमा सुरु हुने आईपिएलको १३औं संस्करणमा मुम्बईको टिममा जसप्रित बुमराह र न्यूजिल्यान्का ट्रेन्ट बोल्ट, मिचेल म्यक्लेनघन, अस्ट्रेलियाका नाथन कुल्टर नाइल जस्ता फास्ट बलर छन् ।

मालिंगाको स्थानमा मुम्बईले अष्ट्रेलियन फास्ट बलर जेम्स प्याटिनसनलाई टिममा राखेको छ । मालिंगाको स्थान लिने प्याटिन्सन उपयुक्त खेलाडी भएको मुम्बईले जनाएको छ । उनी केही दिनमै युएई आइपुग्ने बताइएको छ ।