हाइ स्कोरिङ म्याचमा मुम्बईले पञ्जाबलाई हरायो

आइपिएलमा ओपनर इशान किसन र सूर्यकुमार यादव चम्किँदा मुम्बइ इन्डियन्सले सानदार जित निकालेको छ। गएराति भएको खेलमा मुम्बईले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरको हो।

२१४ रनको लक्ष्य पछ्याएको मुम्बईले सात बल बाँकी छँदै चार विकेट मात्रै गुमाएर २१६ रन बनाएको थियो। उसका लागि आक्रामक ब्याटिङ गरेका इशानले ४१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै ७५ रन बनाए भने सूर्यकुमार यादवले ३१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६६ रन बनाए।

यस्तै, तिलक वर्मा र टिम डेभिडले नटआउट २६ र १९ रनको योगदान गरे। बलिङमा पञ्जाबका नाथन इलिसले दुई तथा ऋषि धवन र अर्शदिप सिंहले एकएक विकेट लिए।

घरेलु मैदान आइएस बिन्द्रामा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले तीन विकेटको क्षति २१४ रन बनाएको थियो। पञ्जाबका लागि लियम लिभिङस्टोनले ४२ बलमा ७ चौका र चार छक्का प्रहार गर्दै नटआउट ८२ रन बनाए।

यस्तै, जितेश शर्माले २७ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४९ रन बनाउँदा कप्तान शिखर धवनले २० बलमा ५ चौका प्रहार गर्दै ३० रनको योगदान दिए।

बलिङतर्फ मुम्बईका पियुष चावलाले २ र अर्शद खानले एक विकेट लिए।

जितसँगै मुम्बई १० अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ भने पञ्जाब सातौं स्थानमा छ।