काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको दोस्रो चरणका खेलहरु आजबाट सुरु हुँदै छ । दोस्रो चरणको पहिलो दिन विभागीय टिम त्रिभुवन आर्मी क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिका भिड्न् छन् । खेल दिउँसो २ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सुरु हुने छ।
६ खेलमा ४ जित, १ हार र १ बराबरी खेलेको आर्मी १३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । पहिलो चरणका सबै खेल हारको चौदण्डी पुछरमा छ । पहिलो चरणमा यी दुई बीचको भएको खेलमा आर्मी १२–०ले विजयी भएको थियो ।
पहिलो जितको खोजिमा रहेको चौदण्डीगढीले दोश्रो चरणका खेलका लागि ४ जना विदेशी खेलाडीलाई बोलाएको छ ।
चौदण्डीगढीले ल्याएको विदेशी खेलाडीमा स्ट्राइकरमा सुजाता राई, मिडफिल्डमा एंगेला भुटिया, डिफेन्समा ऐइनित लेप्चा र गोलकिपरमा दिपशिखा विश्वकर्मा रहेकी छिन् । चारै जनाको कोरोना परिक्षण गरिएको छ । कोरोना नतिजा नेगेटिभ आएमा आज हुने आर्मी विरुद्धको खेलमा चारै जना खेलाडीलाई मैदानमा देखिन सक्नेछ ।
एपिएफ क्लब आफ्ना सबै ६ खेलमा जित निकाल्दै १८ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। विराटनगर महानगरपालिका १० अंकका साथ तेस्रो स्थानमा रहेको छ भने नेपाल पुलिस क्लब चौथो, वालिङ नगरपालिका पाँचौँ र चन्द्रपुर नगरपालिका छैटौँ स्थानमा रहेका छन्।