राखेपमा १ अर्ब ३५ करोड बेरुजु

Read Time:7 Minute

राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा एक अर्ब ३५ करोड रुपैयाँ बेरुजु देखिएको छ । विभिन्न समयमा पेस्की लिएका एक हजार एक सय ७४ व्यक्तिको पेस्की बेरुजु देखिएको छ ।

नवनियुक्त सदस्य–सचिव रमेश सिलवालले राखेपको कमजोर आर्थिक प्रशासनको खुलासा गरेका हुन् । उनका अनुसार यो पेस्की बेरुजु पञ्चायतकालदेखिको हो । सदस्य–सचिव सिलवालले तीन पूर्वखेलकुदमन्त्रीले समेत पेस्की फर्स्योट नगरेको खुलासा गरे ।

वनियुक्त सदस्य–सचिव रमेश सिलवालले राखेपको कमजोर आर्थिक प्रशासनको खुलासा गरेका हुन् । उनका अनुसार यो पेस्की बेरुजु पञ्चायतकालदेखिको हो । सदस्य–सचिव सिलवालले तीन पूर्वखेलकुदमन्त्रीले समेत पेस्की फर्स्योट नगरेको खुलासा गरे ।

राखेपले आइतबार आर्थिक वर्ष ०६७/७७ को योजना कार्यान्वयन सम्बन्धमा आयोजना गरेको गोष्ठीमा सदस्य–सचिव सिलवालले भने, ‘हामीसँग कमजोर आर्थिक प्रशासनको नमुना छ । पेस्की लिने अनि फस्र्योट नगर्ने गलत संस्कर बढेको छ । पेस्की लिएका कतिपय व्यक्ति बितिसक्नुभएको छ । कतिपयको घर–ठेगाना नै थाहा छैन । ठेगाना थाहा भएका कतिपयले पेस्की फर्स्योट गर्न चासो दिनुभएको छैन । अझ लाजलाग्दो कुरा तीन–तीनजना पूर्वमन्त्रीले समेत पेस्की फर्स्योट गर्नुभएको छैन ।’

सदस्य–सचिव सिलवालले पेस्की फर्स्योट नगर्ने पूर्वमन्त्रीको नाम भने खुलाएनन् । उनले अब आफ्नो कार्यकालमा आर्थिक प्रशासनलाई चुस्त बनाउने बताए । त्यसका लागि एकपटक पेस्की लिएका व्यक्तिलाई त्यसको फर्स्योट नगरेसम्म अर्काे पेस्की नदिइने स्पष्ट पारे । राखेपले आर्थिक वर्ष ०६७/७७ मा सरकारले खेलकुद सम्बन्धमा तय गरेको परियोजनाको समयमै कार्यान्वयनका लागि आफूअन्तर्गतका इन्जिनियर, क्षेत्रीय प्रमुख, लेखा अधिकृत र विभागीय प्रमुखहरूका लागि गोष्ठीको आयोजना गरेको हो ।

राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाले आफू अघिल्लोपटक उपाध्यक्ष रहँदा पनि पेस्की बेरुजुको ठूलो समस्या बेहोरेको बताए । उनले पेस्की रकम लिएर फर्स्योट नगर्नेलाई कारबाहीका लागि सिफारिस गर्दासमेत अहिलेसम्म त्यसको सुनुवाइ नभएको बताए ।

‘म अघिल्लो कार्यकालमा उपाध्यक्ष रहँदासमेत पेस्की बेरुजुको यस्तै समस्या थियो । त्यसवेला खेल संघहरूको पेस्की फस्र्योटसम्बन्धी बेरुजु मिलान समितिमा बसेर काम गरेको थिएँ,’ उपाध्यक्ष तिम्सिनाले भने, ‘हामीले धेरै मिहिनेत गर्दासमेत १७ करोडबाट ११ करोडसम्म मात्रै पेस्की मिलान गर्न सकेका थियौँ ।

कतिपयले त्यसवेला रकम नै ल्याएर बुझाएका थिए । पेस्की फस्र्योट नगर्ने बाँकीलाई कारर्बाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्दासमेत अहिलेसम्म त्यसको कार्यान्वयन भएको देखिएको छैन ।’ तिम्सिना अघिल्लोपटक युवराज लामा सदस्य–सचिव हुँदा पनि राखेपमा उपाध्यक्ष थिए ।

कार्यक्रममा उपस्थित कोष तथा लेखा नियन्त्रण कार्यालय ¬(कोलेनिका)का प्रमुख भोजराज पौडेलले कुनै पनि आर्थिक समस्याबाट बच्न राखेप पदाधिकारी र कर्मचारीलाई समयमै परियोजना सम्पन्न गर्ने गरी काम गर्न सुझाब दिए । ‘सरकारले घोषणा गरेका कुनै पनि परियोजना अघि बढाउन तपाईंहरूले अख्तियारी पाइसक्नुभएको छ,’ कोलेनिका प्रमुख पौडेलले भने, ‘त्यसलाई समयमै सक्ने गरी प्रक्रिया अघि बढाउनुहोस् । त्यसो गरे रकम भुक्तानीमा कुनै समस्या आउनेछैन । समय तलमाथि परेको अवस्थामा हामीले मुक्तानी रोक्नुपर्ने बाध्यता रहन्छ । त्यसले परियोजना पनि पूरा हुन दिँदैन ।’

खरिद योजना बनाएर काम गर्न महालेखाको सुझाव

यस्तै, महालेखा परीक्षक दामोदर पुडासैनीले खरिद योजना बनाएर काम गर्न सुझाब दिए । त्यसरी काम गरिएको अवस्थामा समयमै काम सकिने र कुनै पनि किसिमको आर्थिक समस्या नआउने उनले बताए ।

‘हाम्रो देशमा कुल विकास खर्चको ४१ प्रतिशत असार महिनामा मात्रै हुने गरेको छ,’ उनले भने, ‘यही अवस्थाले समस्या निम्त्याउने हो । तपाईंहरू खरिद योजना बनाएर काम गर्नुहोस् । इन्जिनियर, अन्य प्राविधिक र ठेकेदार कम्पनीहरूले पनि वर्क सेड्युल बनाएर काम गर्नुहोस् । त्यसो गर्दा कुनै पनि परियोजना समयमै सम्पन्न हुनेछ । त्यसले कुनै किसिमको समस्याको सामना गर्नुपर्ने छैन ।’

महालेखा परीक्षक पुडासैनीले महालेखा परीक्षकको कार्यालयले नेपाली खेलकुदको भौतिक पूर्वाधारको अध्ययन गरिरहेको जानकारी दिएका छन् । अध्ययन पूरा भएपछि त्यसको प्रतिवेदन संसद् हुँदै सरकारलाई बुझाउने तयारी भएको उनले बताए ।

‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान खेलकुद पूर्वाधार कमजोर भएको भन्नेबारे धेरै गुनासा आए । पौडी प्रतियोगिता होटेलमा गरेका समाचार आए । खेलाडीले प्रतिस्पर्धा गर्ने वेला जुत्तासम्म लगाउन नपाएका गुनासा पनि आए,’ उनले भने, ‘त्यसैले हामीले नै एउटा टोली बनाएर खेलकुदको भौतिक पूर्वाधारको अध्ययन थालेका छौँ । प्रतिवेदन तयार भएपछि संसद् हुँदै सरकारलाई बुझाउनेछौँ । त्यसबारे खेलकुद मन्त्रालय र राखेपलाई पनि जानकारी दिनेछौँ ।’

(नयाँ पत्रिका)

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपाली धावक निमेशले जिते चीनमा स्वर्ण
Next post लाम्पार्टको इपिएल डेब्यू निराशाजनक, म्यानयुसँग ४–०ले हार्‍यो चेल्सी
Close