नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालिका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार बसेको केन्द्रिय समिति बैठकले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
बैठकमा निकै विवाद भएको थियो । बैठकमा झन्डै हात हालाहालको स्थिति समेत बनेको थियो।
चैत ६ देखि १७ सम्म दशरथ रंगशालामा प्रधानमन्त्री थ्रीनेसन कप मार्फत अल्बर्टो एनेसले प्रशिक्षण थाल्ने छन्। प्रतियोगितामा नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा हुनेछ।
यसअघि कुवेतका अल्दुल्लाह अलमुताइरीपछि एन्फाले प्रदीप हुमागाइँ र प्रवेश कटुवाललाई राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी दिएको थियो।
अल्बर्टो एनेस इटालियन व्यवसायिक फुटबल प्रशिक्षक र पूर्व खेलाडी हुन्। उनी हाल इन्डियन सुपर लिग क्लब नर्थइस्ट युनाइटेडका मुख्य प्रशिक्षक हुन्।
आफ्नो कोचिङ करियर इटालीमा सुरु गरेका उनी लाटभिया, घाना, प्लेस्टाइन, इन्डोनेसिया, बेलीज, कोसोभो र भारतका टिमको प्रशिक्षक भएर काम गरेको अनुभव छ। उनले भारतको गोकुलम केरलाको प्रशिक्षक हुँदा लगातार दुई सिजन आइलिग उपाधि जितेका थिए।
सन् २०१० मा आफ्नो व्यवसायिक कोचिङ करिअर सुरु गरेका उनी सन् २०१७ मा घानाको प्रिमियर लिग क्लब बेचेम युनाइटेडमा नियुक्त भए। क्लब २०१८ घाना सुपर कप उपविजेता भयो।
२०१८ मा उनी इन्डोनेसियाको लिग वान क्लब पिएसआइएस सेमाराङको प्रशिक्षक नियुक्त भएका थिए। उनले २०१९ मुख्य प्रशिक्षकको रूपमा सेन्ट्रल अमेरिकी देश बेलीज राष्ट्रिय फुटबल टोलीसँग एक वर्षको सम्झौता गरेका थिए।
सन् २०२० मा उनी भारतको आइलिग क्लब गोकुलम केरलाको प्रशिक्षक भए। उनको नेतृत्वमा क्लबले २०२०(२१ सिजनमा आइ लिग जित्यो। उनको प्रशिक्षणमा केरलाले २१ खेलसम्म अपराजित रहदै इतिहास रच्यो। उनको नेतृत्वमा केरलाले २०२१(२२ पनि उपाधि जित्यो।
२०२२ एएफसी कप समूह चरणको उद्घाटन खेलमा केरलाले इन्डियन सुपर लिग क्लब एटीके मोहन बागान विरुद्ध ४–२ को ऐतिहासिक जित हासिल गरेको थियो। गत वर्ष उनले क्लब छाडेका थिए।
उनी गत डिसेम्बरदेखि इन्डियन सुपर लिग क्लब नर्थइस्ट युनाइटेडमा मुख्य प्रशिक्षकको रूपमा आबद्ध भएका थिए।