थाइल्यान्डसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तयारीका लागि प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रारम्भिक टिमको घोषणा गरेका छन् । अलमुताइरीले राष्ट्रिय टिमका केही नियमित सदस्यहरुलाई बाहिर राख्दै अलमुताइरीले २५ सदस्यीय टिम घोषणा गरेका हुन्।
टिममा ए डिभिजन लिगकै सर्वोत्कृष्ट खेलाडी बनेका सुनिल बल, उत्कृष्ट गोलकिपर विशाल श्रेष्ठ, विमल घर्तिमगर, सुजल श्रेष्ठ, विशाल राईलगायत खेलाडी छैनन्। नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने समयमा मछिन्द्र क्लबले एएफसी कप छनोट खेल्ने भएका अल्मुताइरीले टिममा मछिन्द्रका खेलाडीलाई नसमेटेका हुन्।
ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले चैत २२ गते एएफसी कप छनोटको प्रारम्भिक चरणअन्तर्गत श्रीलंकाको ब्लूस्टार एफसीसँग खेल्दैछ । त्यो खेल जितेमा चैत २९ गते भारतको मोहन बगान एफसीसँग खेल्नुपर्नेछ ।
नेपालले थाइल्यान्डको चोङबुरीमा थाई राष्ट्रिय टोलीसँग चैत १० गते अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ । चैत १३ गते थाइल्याण्डको शीर्ष डिभिजन क्लब चोङबुरी एफसीसँग अर्को मैत्रीपूर्ण खेल खेल्दैछ ।
नेपालले आगामी जुन महिनामा हुने एएफसी कप छनोट तेस्रो चरणको तयारी गरिरहेको छ । छनोट प्रतियोगिताको समूह ए मा नेपालले जोर्डन, कुवेत र इण्डोनेसियासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
नेपाली टिम : किरण लिम्बु, टिकेन्द्र थापा, दीप कार्की, आशिष लामा, आयुश घलान, अनन्त तामाङ, अन्जन विष्ट, प्रशान्त अवस्थी, नवीन गुरुङ, एरिक विष्ट, दर्शन गुरुङ, नितिन थापा, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीप गुरुङ, सुरज ज्यू ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द र जगजित श्रेष्ठ ।