नेकोसको पहलमा राखेप र ट्रमा सेन्टरबीच सम्झौता

खेलाडीहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले राष्ट्रिय ट्रमा सेन्टरसँग सम्झौता गरेको छ। नेपाल खेलकुद महासंघ (नेकोस) को विशेष पहलमा खेलाडी उपचारमा सहयोग पु¥याउने उद्देश्यसहित राखेपले ट्रमा सेन्टरसँग सम्झौता भएको हो ।

शुक्रबार एक कार्यक्रमबीच राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल र ट्रमा सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार ट्रमा सेन्टरले खेलाडीका लागि २४सै घण्टा इमर्जेन्स, रक्तसंचार, फार्मेसी, रेडियोलोजी/इमेजिङ सेवा, प्याथोलोजी ल्याब, शल्यक्रिया सेवालगयात सेवा प्रदान गर्ने छ।

यस्तै, अर्थोपेडिक तथा ट्रमा सर्जरी (हाडजोर्नी, स्पाइनल, जोर्नी प्रत्यारोपण, स्पोर्ट्स इन्जुरी तथा आर्थोस्कोपी सर्जरीलगायतका सेवा), न्युरो सर्जरी (बहिरङ/अन्तरङ), इएनटी (बहिरङ/अन्तरङ सेवा), वर्न प्लाष्टिक, जनरल सर्जरी, ओरल एन्ड मेक्जिलो फेसियल, भास्कुलर सर्जरी (अन्तरङ सेवा), सघन उपचार सेवा र फिजियोथेरापीलगायत सेवा पनि ट्रमा सेन्टरले खेलाडीलाई उपलब्ध गराउने छ।

सेन्टरले प्रवाह गर्ने ३ किसिमका कडा रोग हेड इन्जुरी, स्पाइनल इन्जुरी र शल्यक्रिया गर्नु पर्ने बोन क्यान्सर का विरामीहरुको स्वास्थ्य उपचार सेवा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विपन्न नागरिक औषधोपचार निर्देशिका बमोजिम सेन्टरले गर्ने छ ।

सदस्य–सचिव सिलवालले सम्झौता सम्भव गर्न सहयोग गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गर्दै खेलाडीलाई उपचार सुविधा प्रदान गर्न सहमत भएकोमा सेन्टरलाई धन्यवाद दिए । डा. पौडेलले राष्ट्रका लागि योगदान गर्ने खेलाडीलाई विशेष महत्व दिनु पर्छ भन्ने मान्यताका साथ सम्झौता गरेको बताए ।

कार्यक्रममा राखेपका सदस्यत्रय एकेन्द्र कुँवर, सुभाष श्रेष्ठ र इन्दिरा निरौला, नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल, खेलकुद चिकित्सा तथा अनुशन्धान केन्द्रका प्रमुख तिलक नेपाली, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकलगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box