काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र स्याङ्जाको वालिङ नगापालिका विजयी भएका छन् । बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको पहिलो खेलमा वालिङले चौदचण्डीगढी नगरपालिकालाई ७–१ ले हरायो भने दोस्रो खेलमा त्रिभुवन आर्मीले विराटनगरमाथि ७–०को जित निकाल्यो ।
बिहीबार भएको दोस्रो खेलमा आर्मीलाई जित दिलाउन दिलाउन शर्मिला थापा र विमला बिकले २–२ गोल गरे भने सपना लामा, विमला चौधरी र रश्मी घिसिङले समान १ गोल गरे ।
आर्मीले १८औं मिनेटमा शर्मिलाको गोलबाट अग्रता लियो । २२औं मिनेटमा सपनाले गोल गर्दै आर्मीलाई २–०को अग्रता दिलाइन्। ३१औं मिनेटमा विमलाले गोल गरेपछि आर्मीले ३–०को अग्रता लियो । ३४औं मिनेटमा विमला चौधरीले गोल गर्दै आर्मीलाई ४–०को अवस्थामा ल्याइन् । ३९औं मिनेटमा रश्मीले गोल गरेपछि आर्मीले पहिलो हाफमा ५–० को अग्रता बनायो ।
५०औं मिनेटमा विमला बिकले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले विराटनगरविरुद्ध ६–०को अग्रता लियो । ५४औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले ७–०को सहज जित निकाल्यो ।
प्रतियोगितामा ७ जित र १ बराबरी नतिजा निकालेको आर्मी २२ अंकाका जो दोस्रो स्थानमा छ । शीर्ष स्थानको एपिएफको २४ अंक छ । विराटनगर १० अंकसहित पाँचैं स्थानमा छ ।

रुथको ह्याट्रिमा वालिङ विजयी
क्यामरुनी स्ट्राइकर मेथो रुथले ह्याट्रिक गरेपछि राष्ट्रिय महिला लिगमा वालिङले चौदण्डीगढीलाई ७–१ले हरायो । वालिङको जितमा रुथले ह्याट्रिकसहित ५ गोल गरिन् भने क्यामरुनकै टौटा ओरनेला नोईलीले दुई गोल गरिन् । चौदण्डीकी अन्जना थुलुङले एक गोल फर्काईन् ।
रुथले खेलको २५, ३३, ४४ र्आैं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् । दोस्रो हाफमा वालिङले थप चार गोल गरेको थियो । दोस्रो हाफमा रुथले ४८ र ५५ औं मिनेटमा गोल गर्दा नोइलीले ७१ र ७२औं मिनेटमा गोल गरिन् । चौदण्डीगढीका लागि ३२औं मिनेटमा अन्जनाले गोल गरेकी थिइन् ।
९ खेलमा १८ अंक जोडेको वालिङ तेस्रो स्थानमा छ भने अंकविहीन चौदण्डीगढी पुछारमा छ ।