°
, June 1, 2023 in
0

एक खेल बाँकी छँदै एपिएफले जित्यो उपाधि, तर खल्लो

SHARE:

विभागीय टिम एपिएफले महिला राष्ट्रिय लिगको उपाधि लागतार दोस्रो पटक जितेको छ। बुधबार एन्फा कम्प्लेक्समा भएको खेलमा विराटनगर महानगरपालिकालाई १–०ले हराउँदै एपिएफले शतप्रतिशत नतिजासहित १ खेलबाँकी छँदै उपाधि जितेको हो।

लगातार दोस्रो पटक उपाधि जिते पनि एपिएफको पुरै टिमले खल्लो महसुस गरेको छ। आफ्ना प्रमुख स्ट्राइकर सावित्रा भण्डारी अघिल्लो खेलमा घाइते भएपछि एपिएफलाई खल्लो महसुस भएको हो। सावित्राले १० खेलमा ४३ गोल गर्दै एपिएफलाई उपाधि दाबेदार बनाएकी थिइन्।

बुधबारै भएको दोस्रो खेलमा एपीएफले विराटनगरलाई १–० ले हराउँदै लगातार ११औं जितसमेत हात पार्‍यो । एपीएफको जितमा अनिता केसीले ५५औं मिनेटमा गोल गरिन् । सावित्रको अनुपस्थितिमा विराटनगरविरुद्ध जित निकाल्न एपिएफलाई निकै संघर्ष गर्नुपरेको थियो।

विराटनगरविरुद्ध सावित्राबिना नै एपीएफको टोली मैदान उत्रिएको थियो । नियमित गोल गरिरहेकी साम्बा नहुँदा एपीएफको स्कोरिङमा समस्या स्पष्ट देखियो । एपीएफकी मुख्य प्रशिक्षक भगवती थापाले पनि यो तथ्यलाई स्वीकार गरिन् । विराटनगरविरुद्धको खेल जितेपनि प्रदर्शनबाट सन्तुष्ट नभएको थापाले बताइन् । ‘गेम जित्यौँ तर सन्तुष्ट हुने गरी जित भएन । हामीले पोष्टमा धेरै एटेम्प गर्न सकेनौँ’ उनले भनिन् ।

‘गेम जित्नको लागि स्कोर चाहिन्छ र हाम्रो स्कोरको मुख्य खम्बा सावित्रा नै हो’ प्रशिक्षक थापाले खेलपछि भनिन्, ‘अब टिम एउटा फर्ममा गइरहेको हुन्छ । त्यस्तो बेला महत्वपूर्ण खेलाडी नहुँदा गाह्रो हुन्छ । के गर्न कसो गर्ने जस्तो भयो । हामीसंग समय पनि कम भयो । त्यसले गर्दा खेलमा तालमेल बनाउन गाह्रो भएको हो ।’

प्रशिक्षक भगवती थापाले सावित्राको अभाव खेलमा खड्किएको बताइन् । ‘सावित्राको अभाव हामीलाई खड्कियो । किनभने मुख्य गोल स्कोर गर्ने नै सावित्रा हो । इन्डिभिजुअल एग्रेसनको पनि जरुरी थियो जुन भएन’ उनले भनिन् ।

घुँडामा चोट लागेको र अन्य समस्या भएपनि साम्बा बुधबार एपीएफको खेल हेर्न सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुगेकी थिइन् । खेल सकिएपछि उनी टिममेटसंग मैदानमा गएर सामूहिक फोटो खिचाइन् । आफू घाइते भएपनि उनको मुहारमा भने उपाधि जित्दाको खुशी देखिएको थियो ।

साम्बाले टिमले आफू नभएपनि राम्रो खेलेको बताइन् । ‘साथीहरुले राम्रो खेल्दै खेल जिते । मेरो अभाव खट्किएन जस्तो लाग्छ । टिमले मलाई दिएको गिफ्ट जस्तो भयो । म मैदानमा नभएपनि साथीहरुले राम्रो खेले’ उनले भनिन् । टिमले उपाधि जितेको खुशीमा भन्दा पनि साम्बाको चोटले एपीएफका खेलाडी र अफिसियल दुस्खी देखिन्थे ।

भगवती थापाले प्रशिक्षकको डेब्युमै राष्ट्रिय लिगको उपाधि जितिन् । उनले यसअघि एपीएफ र राष्ट्रिय टिमबाट लामो समय फुटबल खेलेकी थिइन् ।

एपीएफले जारी लिगमा लगातार ११ खेल जित्दै ३३ अंक जोडेको छ । जसमा एपीएफले ७४ गोल गर्दा जम्मा १ गोल मात्र व्यहोरेको छ । एपीएफकी स्ट्राइकर साम्बाले १० खेल खेल्दै सर्वाधिक ४३ गोल गरिसकेकी छिन् । ७ खेलमा ह्याट्रिक वा सो भन्दा माथिको संख्या गोल गरेकी उनले दुई खेलमा गोल गर्न सकिनन् भने एक खेलमा २ गोल गरेकी थिइन् । यस्तै अर्को विभागीय टोली आर्मीले दोस्रो स्थान पक्का गरेको छ । ११ खेलबाट ८ जित २ बराबरी र १ हारसहित आर्मीले २६ अंक जोडेको छ ।

अब लिगको अन्तिम खेलमा यी दुई विभागीय टोली भिड्नेछन् । खेल फागुन ७ गते दशरथ रंगशालामा हुनेछ । उपाधि जिते पनि एपीएफ आर्मी विरुद्धको खेललाई लिएर सजग छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *