एकदिवसीय क्रिकेटमा नेपालले ओमानविरुद्ध पहिलो जित निकालेको छ। ओमानविरुद्ध पहिलो जित निकाल्ने क्रममा नेपाल विश्वकप लिग–२ अन्तर्गतको दोस्रो क्रिकोणात्मक सिरिजको अन्तिम खेलमा ७ विकेटले विजयी भयो ।
नेपाललाई जित दिलाउन करण केसी र सन्दीप लामिछाने बलिङमा र कप्तान ज्ञानेन्द्र मल्ले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे । बलिङमा सन्दीप र करणले समान ४ विकट लिए भने ज्ञोनन्द्रले अर्धशतक प्रहार गरे।
पहिला ब्याटिङ गर्दै ओमानले दिएको १२२ रनको लक्ष्य नेपालले १८ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५१ रन बनाए । उनले ४६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। एकदिवसीय क्रिकेटमा ज्ञानेन्द्रको यो चौथो अर्धशतक हो ।
यस्तै, आसिफ सेखले ४४ बलमा ७ चौका प्रहार गर्दै ४० रन बनाए भने कुशल भुर्तेल र रोहितकुमार पौडेलले समान ६ रन बनाए। आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए। ओमानका नेस्टोर धम्बाले २ तथा कलिमुल्लाहले एक विकेट लिए।
यसअघि करण केसी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेपछि नेपालले ओमानलाई १२१ रनमा अलआउट गरेको थियो।
टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको ओमानको इनिङ ध्वस्त बनाउनजे क्रममा करणले ८ ओभरमा १ मेनडसहित २५ रन खर्चेर ४ विकेट लिए भने सन्दीपले ८.१ ओभरमा २ मेडनसहित १८ रन खर्चेर ४ विकेट लिए । यस्तै शरद भेषावकरले ६ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए।
ओमानका लागि जिसन मक्सुदले सर्वाधिक ४१ रन बनाए । उनले ६६ बल २ चौका र १ छक्का प्रहार गरे। यस्तै, जितेन्दर सिंहले १३ र नसिम खुसीले १२ र कलिमुल्लाहले नटआउट ११ बनाउन बनाए।
यो जितसँगै नेपाल चौथो स्थानमा उक्लिएको छ। ८ खेलमा नेपालले ८ अंक नै जोडेको छ। २० अंक जोडेको ओमान शीर्ष स्थानमा छ भने १४ अंकका साथ अमेरिका दोस्रो स्थानमा छ। तेस्रो स्थानको स्कटल्यान्डको ९ अंक छ।