एथलेटिक्स परिवारले घोषणा गर्‍यो वार्षिक कार्यक्रम

हालै स्थापना भएको एथलेटिक्स परिवार नेपालले आफ्नो वार्षिक कार्यक्रम घोषणा गरेको छ । अघिल्लो महिना स्थापित एथलेटिक्स परिवारले यस वर्ष उमेर समूहसहित चार प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

परिवार एथलेटिक्सको विकास र विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यले राजन खत्रीको अध्यक्षता स्थापना भएको थियो।

मंसिरमा युथ एथलेटिक्स च्याम्पियनसिप गर्ने घोषणा छ । जहाँ यू–१६ र यू–२० का स्पर्धा समावेश हुनेछन् । माघमा नुवाकोटमा हुने झिल्टुङ क्रसकन्ट्री दौडमा सहकार्य गरिने, फागुनमा गोल्डेन एथलेटिक्स मिट र २०७९ को साउनमा खुला क्रसकन्ट्री दौड प्रतियोगिता गर्ने बताइएको छ।

झिल्टुङसँग एथलेटिक्स परिवारको सहकार्य रहनेछ । खुला क्रसकन्ट्रीको स्थान भने पछि तय गरिने बताइएको छ । सबै प्रतियोगिता आयोजना गर्न करिब ४५ लाख खर्च लाग्ने एथलेटिक्स परिवारले जनाएको छ ।

‘प्रशिक्षण तथा खेलाडी उत्पादन गर्ने काम राखेप र एथलेटिक्स संघको हो । हामी ती खेलाडीको प्रतिभा प्रस्तुत गर्ने माध्यम बन्न खोजेका हौं । तत्कालका लागि प्रतियोगिता गर्नेबाहेक अन्य कार्यक्रम समावेश गरेका छैनौं,’ अध्यक्ष खत्रीले भने ।

खत्रीको अध्यक्षतामा एथलेटिक्सका ओलम्पियनसहित भेट्रान खेलाडी सम्मिलित ९ सदस्यीय कार्यसमिति रहेको संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको हो ।