कीर्तिपुरमा नेपालको पहिलो ओडिआई जित, कुशलको नाममा विश्वकीर्तिमान

विश्वकप क्रिकेट लिग–२ मा नेपालले पहिलो विजय हात पारेको छ । घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय विजय हात पार्ने क्रममा नेपालले शनिबार अमेरिकालाई ३५ रनले पराजित गर्‍यो । १ सय ९१ रनको विजय लक्ष्य लिएर आएको अमेरिका ४४।१ ओभरमा १ सय ५५ रनमा अलआउट भयो। यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न आएको नेपाल ओभरमा १ सय ९१ रनमा अलआउट भएको थियो ।

इयान हल्यान्डले ७५ रन बनाए पनि अमेरिकालाई विजय दिलाउन सकेनन्। उनले १ सय ११ बलको इनिङ्समा ७ चौका प्रहार गरे। ६५ रन बनाउँदा ७ विकेट गुमाएको अमेरिकाबाट क्यामरन स्टेभनसनले १९ रन बनाए। नेपालबाट करण केसीले ४, सुसन भारीले ३, सन्दीप लामिछानेले २ र कुशल मल्लले १ विकेट लिए।

यस त्रिकोणात्मक शृंखलामा नेपालको यो पहिलो जीत हो। नेपाल र अमेरिका दुवैलाई पहिलो खेलमा ओमानले पराजित गरेको थियो। यसअघिका ९ खेलमा ६ विजय हात पार्दै ७ राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहेको अमेरिकाले पछिल्ला दुवै खेलमा हार व्यहोरेको छ।

कुशलले तोडे रोहितको रेकर्ड

यसअघि कुशल मल्लले विश्व कीर्तिमान बनाउँदै अर्धशतकीय इनिङ्स खेलेका थिए। ४९ रनमा ५ विकेटको दयनीय स्थितिलाई सुधार्ने क्रममा विनोद भण्डारीले पनि अर्धशतक बनाएका थिए। कुशलले ५० र विनोदले ५९ रन बनाएपछि नेपालले ४९.२ ओभरमा १ सय ९० रनमा अलआउट भएको थियो।

कुशलको यो डेब्यु खेल हो। उनले १५ वर्ष ३ सय ४० दिनको दिनमा अर्धशतक बनाउँदै एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा ५० रन पुरा गर्ने खेलाडी बनेका हुन्।

उनलाई शनिबार रोहित पौडेलको स्थानमा खेलाइएको थियो र रोहितले एक वर्षअघि दुबईमा युएईविरुद्ध सबैभन्दा कम उमेरमा अर्धशतक बनाएको कीर्तिमानलाई कुशलले उछिनेका हुन्।

यस अघि नेपालकै रोहित पौडेलले युएईविरुद्ध डेब्यु गर्दै सबैभन्दा कम उमेर (१६ वर्ष १४० दिन १६ जनवरी २०१९, ५५ रन)मा ५० रन पूरा गर्ने रेकर्ड राखेका थिए । तेस्रो नम्बरमा भारतका स्टार सचिन तेन्दुलकर (१६ वर्ष २१३ दिन, २३ नोभेम्बर १९८९, ५९ रन) छन् भने चौथोमा पाकिस्तानका सहिद अफ्रिदी (१६ वर्ष २१७ दिन, ४ अक्टोबर १९९६, १०२ रन) । त्यस्तै पाँचौँ नम्बरमा हङकङका अंशुमान रथ (१७ वर्ष ४ दिन, ९ नोभेम्बर २०१४, ५५ रन) छन् ।

कुशलले ५१ बलको इनिङ्समा ४ चौका र ३ छक्का प्रहार गरे। उनले विनोदसँग छैटौं विकेटमा ८४ रनको महत्वपूर्ण साझेदारी गरी नेपाललाई खेलमा फर्काएका थिए।

विनोदले ७९ बल खेली ६ चौका र १ छक्का प्रहार गरेका थिए। उनीपछि आएका करण केसी १२ रनमा आउट भए भने सन्दीप लामिछाने शुन्यमा पेभेलियन फर्किए। सुसन भारी आउट हुने अन्तिम खेलाडी थिए। उनले ११ रन बनाए। अविनाश बोहरा ५ रनमा अविजित रहे।

यसअघि नेपाल २२ औं ओभर नेपालले ४९ रन बनाउदा ५ विकेट गुमाइसकेको थियो। नेपालबाट ३ रनको अन्तरमा ४ विकेट गुमाएपछि दबाबमा आएको हो। कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले दोस्रो विकेटमा ४० रनको साझेदारी गरेपछि नेपाल १ विकेट गुमाई ४६ रनको स्कोरमा पुगेको थियो।

तर त्यसपछि ज्ञानेन्द्र २१, दीपेन्द्र ऐरी शुन्य, पूर्वकप्तान पारस १९ र आरिफ शेख २ रनमा आउट भएपछि नेपाल नाजुक स्थितिमा पुगेको थियो। ओपनर सुवास खकुरेल ३ रनमा यसअघि नै आउट भइसकेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.