साग फुटबलमा नेपालको शानदार सुरुवात, भुटान ४–०ले पराजित

१३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा नेपालले शानदार सुरुवात गरेको छ । मंगलबार दिउँसो दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानलाई ४–०ले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको हो ।

नेपाललाई जित दिलाउन कप्तान सुजल श्रेष्ठले २ गोल गरे भने अभिषेक रिजाल र मिक्छेन तामाङले एक–एक गोल गरे । खेलको चौथो मिनेटमै नेपालले सुरुवाती अग्रता लियो । कप्तान सुजलले भुटानका डिफेन्सले क्लियर गर्न नसेको बलमा गोल गरेका थिए ।

पहिलो हाफमा १–०ले अग्रता गरेको नेपालले दोस्रो हाफमा भुटानमाथि थप दबाब दिँदै तीन गोल गरेको थियो । ५५औं मिनेटमा पुनः सुजलले नेपालको अग्रता दोब्बर बनाए । उनले फ्रिकिकमा गोल गरेका थिए ।

६५औं मिनेटमा अभिषेक रिजालले हेडिङमा गोल गरेपछि नेपालले ३–०को अग्रता लियो । यस्तै ७७औं मिनेटमा मिक्छेनले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै नेपाललाई सानदार जित दिलाए ।

प्रतियोगितामा भुटानको यो पहिलो हार हो । यसअघि सोमबार भएको उद्घाटन खेलमा भुटानले बंगलादेशलाई १–०ले हराएको थियो ।

नेपालले बुधबार दोस्रो खेल श्रीलंकासँग खेल्ने छ । खेल साँझ ५ बजे हुने छ ।