नेपाल यू–२० महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा आज भएको लिग चरणको अन्तिम खेलमा बलियो भारतलाई ३–१ले हराउँदै नेपाल फाइनलमा पुगेको हो।
भारतविरुद्ध नेपाललाई सानदार जित दिलाउन कप्तान प्रिती राई, अञ्जली चन्द र अमिषा कार्कीले गोल गरे। भारतका लागि अपूर्ण नार्जारीले गोल गरिन् ।
नेपालले १ गोलले पछि परेको अवस्था उल्टाउँदै भारतविरुद्ध जित निकालेको हो । २०औं मिनेटमा अपूर्णको गोलमा खेलमा भारतले अग्रता लियो। पहिलो हाफ १–०मै सकियो।
दोस्रो हाफमा नेपालले सनीसनीपूर्ण प्रदर्शन गर्दै भारतमाथि जित निकाल्यो। ४८औं मिनेटमा अञ्जलीले गोल गर्दै नेपाललाई खेलमा फर्काइन्। यस्तै, ६९औं मिनेटमा कप्तान प्रितीले पेनाल्टीमा गोल गर्दै खेलमा नेपालाई पहिलो पटक अग्रता दिलाइन्।
त्यसपछि ८९ औं मिनेटमा अमिषाले गोल गरेपछि नेपालले भारतमाथि ३–१को जित निकाल्यो। प्रतियोगितामा अमिषाको यो चौथो गोल हो। यसअघि उनले भुटानविरुद्ध ह्याट्रिक गरेकी थिइन्।
४ टिम सहभागी प्रतियोगितामा नेपालले २ जितसहित फाइनल पुग्यो । यसअघि नेपालले भुटानलाई ४–०ले हराउँदै आयोजक बंगलादेशसँग ३–१ले पराजित भएको थियो।
नेपालसँग हारका बाबजुत भारतको फाइनल पुग्ने सम्भावना कायमै छ। आजै हुने लिगको अन्तिम खेलमा बंगलादेश भुटानसँग पराजित भए भारत उपविजेताका रुपमा फाइनल पुग्ने छ। तर, बंगलादेशलाई फाइनल पुग्न बराबरी नै काफी छ।