टि–२० विश्वकपको ग्लोबल छनोटमा नेपाल तेस्रो भएको छ। सेमिफाइनलमा युएईसँग पराजित हुँदै विश्वकपमा पुग्न असफल भएको नेपालले तेस्रो स्थानका लागि भएको खेलमा ओमानमाथि ९ विकेटको सानदार जित निकाल्यो।
पहिला ब्याटिङ गर्दै ओमानले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १७.२ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । उनले ५३ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा ५५ रन बनाए ।
ओमानविरुद्ध अर्धशतक प्रहार गरेका कुशल नेपालबाट टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक ५ अर्धशतक प्रहार गर्ने खेलाडीसमेत बनेका छन् । उनले एक शतकसमेत प्रहार गरेका छन् । भुर्तेलले ११ खेलमा कूल ४९८ रन बनाएका छन् ।
यस्तै, आरिफसेखले २१ र आसिफ सखेले १३ रनको योगदान दिए । पहिलो विकेटका लागि कुशल र आसिफ ५० रनको साझेदारी गरेका थिए । ओमानका जिसन मक्सुदले १ विकेट लिए।
त्यसअघि मस्कटस्थित अल अमेरात रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको ओमान ८७ रनमै रोकिएको थियो । नेपाली बलरहरू हाबी भएपछि ओमानका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । कप्तान जिसन मक्सुदले २१, आयान खानले १६, नसिम खुसीले १५ र कलिमुल्लाहले १४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
ओमनलाई सस्तैमा समेट्ने क्रममा नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । उनले चार ओभरमा १३ रन खर्चिए । आरिफ शेख, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरीले समान १ विकेट लिए ।
यो सँगै नेपालले ओमानमाथि लातगार तीन जित निकाल्यो। यसअघि नेपालले ओमानमाथि चारदेशीय सिरिजमा ६ विकेट र ग्लोबल छनोटमा ३९ रनको जित निकालेको थियो।