टि–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले लागतार दोस्रो जित निकालेको छ। ओमानमा जारी ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले फिलिपिन्समाथि १३६ रनको विशाल अन्तरको जित निकाल्यो ।
पहिला ब्याटिङ गर्दै नेपालले दिएको २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित ओभरका ८ विकेटको क्षतिमा ८२ रन मात्र बनाउन सक्यो । उसका लागि जोर्डन इल्गराले सर्वाधिक २७ रन बनाउँदा ड्यानियल स्मिथले २० र कप्तान जोनाथन हिलले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंका स्कोर बनाउन सकेनन् ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए। यस्तै, गुल्सन झा, अविनाश बोहरा, जितेन्द्र मुखिया, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको नेपालले कुशल भुर्तेलको सानदार शतक मद्दतमा २१८ रनको विशाल योगफल बनाएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २१८ रन बनाएको हो ।
यो क्रममा ओपनर कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे । कुशलले ६१ बल खेल्दै १३ चौका १ छक्का प्रहार गर्दै नटआउट १०४ रन बनाए । योसँगै उनी टि–२० अन्तर्राष्ट्रियमा शतक बनाउने तेस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि पूर्वकप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका थिए।
कुशलले नेपालबाट टि–२० अन्तर्राष्ट्रियमा ५० भन्दा माथिको स्कोर पाँचपटक बनाउने पूर्वकप्तान पारस खड्काको कीर्तिमान पनि बराबरी गरेका छन् । कुशलले यसअघि चार अर्धशतक प्रहार गरिसकेका छन् ।
यस्तै, दीपेन्द्रसिंह ऐरीले ८३ रनको उत्कृष्ट इनिङ खेले । उनले ४७ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। कुशल र दीपेन्द्रले तेस्रो विकेटका लागि १७१ रनको उत्कृष्ट साझेदारी गरेका थिए।
ओमानका ड्यानियल स्मिथ, मिकी पोडोस्की र गुर्भुपिन्दर चौहानले समान १ विकेट लिए।