रोहित र आरिफको कीर्तिमनी साझेदारीमा पपुवा न्युगिनीमाथि नेपालको जित

आइसिसी विश्वकप लिग–२ अन्तर्गतको तेस्रो सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ। युएईमा जारी नेपाल, युएई र पपुवा न्युगिनीबीचको सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले हरायो ।

बुधबार सारजाहमा भएको खेलमा २०५ रनको लक्ष्य नेपालले ४ बल बाँकी छँदा ८ विकेट गुमाउँदै भेट्टायो। अन्तिम ओभरका सुरुआती दुई बलमा बाउन्ड्री प्रहार गर्दै करण केसीले नेपाललाई जित दिलाएका हुन्।

रोहित र आरिफको कीर्तिमनी साझेदारी

पपुवा न्युगिनीविरुद्ध नेपाललाई जित दिलाउन मिडलअर्डर ब्याट्सम्यानद्वय रोहितकुमार पौडेल र आरिफ शेखले कीर्तिमानी साझेदारी गरे । ४२ रन बनाउँदा महत्वपूर्ण ४ विकेट गुमाएको नेपाललाई यी दुईले पाँचौं विकेटका लागि शतकीय साझेदारी गर्दै बलियो अवस्थामा पु¥याएका थिए ।

रोहित र आरिफले पाँचौं विकेटका लागि १०२ रनको कीर्तिमानी साझेदारी गरे। यो साझेदारी एकदिवसीयमा नेपालको सर्वाधिक साझेदारी हो। यसअघि सन् २०२१ को सेप्टेम्बरमा लिग–२ मै ओमानविरुद्ध ज्ञानेन्द्र मल्ल र आसिफ शेखले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए ।

रोहितले ८२ बलमा ४ चौका प्रहार गर्दै ५८ रन बनाएर भने आरिफ ८४ बलमा ५३ रन बनाए । यस्तै, करण केसीले २५ बलमा २९ रन बनाउँदा आसिफ सेखले १६ र विनोद भण्डारीले ११ रन बनाए । अन्यले भने दोहोरो अंकमा स्कोर बनानउन सकेनन्।
पपुवा न्युगिनीका नोर्मन वानुअ, एलेइ नाओ र रेलेइ हेकुरेले समान २ विकेट लिए।

चार्लस अमिनीको अर्धशतकमा नेपाललाई मध्यम लक्ष्य

चार्लस अमिनीले अर्धशत प्रहार गरेपछि टस जितेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित ओभरमा ८ विकेटका गुमाउँदै २०८ रन बनायो । उसका लागि अमिनीले ८२ बल खेल्दै ७ चौकाको सहयोगमा ५९ रन बनाए ।

यस्तै, चाद सुपरले ३५, टोनी उराले २७, लेगा सिअकाले २५ रन बनाउँदा नोर्मन वानुअले २५ रनको योगदान दिए।

अन्तर्राष्ट्रिय क्रिकेटमा ज्ञानेन्द्रको पहिलो विकेट

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट लिएका छन्। युएईमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गतको तेस्रो सिरिजको पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध विकेट लिँदै ज्ञानेन्द्रले अन्तर्राष्ट्रिय क्रिकेटमा विकेटको खाता खोलेका हुन्।

शारजाह क्रिकेट स्टेडियममा पहिलो इनिङमा ज्ञानेन्द्रले २४औं ओभरको अन्तिम बलमा पपुवा न्युगिनीका प्रमुख ब्याट्सम्यान कप्तान असाद भालालाई १९ रनमा कुशल भुर्तेलबाट क्याच गराए ।

ज्ञानेन्द्रले पहिलो पटक ओडिआईमा बलिङ गरेका हुन् । ज्ञानेन्द्रले पार्ट टाइम स्पिनरको रुपमा बलिङ गरेका हुन् । उनले नेपालका लागि १६ एकदिवसीय र ४० टि–२० आई खेल खेलेका छन्।

नेपालका लागि सामेपाल कामीले सर्वाधिक विकेट ३ विकेट लिए । उनले १० ओभरमा ४८ रन खर्चिए । यस्तै, आरिफ सेख, सन्दीप लामिछानेले पनि समान १ विकेट लिए । यता, एकदिवसीयमा डेब्यू गरेका सागर ढकाल भने विकेटबिहीन रहे। उनले ४ ओभरमा २१ रन खर्चिए।

जितपछि पनि नेपाल छैठौं स्थानमै

पपुवा न्युगिनीविरुद्ध २ रनको जित निकाले पनि अंक तालिकामा भने नेपाल छैठौं स्थानमै यथावत छ । लिग–२को तेस्रो सिरिज खेलिरहेको नेपालले ९ खेलमा ५ जितसहित १० अंक जोडेको छ।

२८ खेलमा ३६ अंक जोडेको ओमान शीर्ष स्थानमा छ । १५ खेलमा १८ अंक जोडेको युएई दोस्रो स्थानमा रहँदा १२ खेलमा १६ अंक जोडेको स्कटल्यान्ड तेस्रो स्थानमा छ। यस्तै, १४ खेलमा १४ अंक नै जोडेको नामिबिया चौथो र १६ खेलमा १४ अंक जोडेको अमेरिका पाँचौं स्थानमा छ।