स्वास्थ्य मन्त्रीलाई पत्र लेख्दै खेलकुद महासंघले भन्यो– खेलकर्मीको जीवन रक्षा गर्न खोप उपलब्ध गराइयोस

नेपाल खेलकुद महासंघले खेल क्षेत्रका लागि कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ। महासंघले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई एक पत्र लेख्दै खेलाडी, प्रशिक्षक तथा खेलकर्मीहरुको जीवन रक्षाको लागि खोप उपलब्ध गराउन माग गरेको हो।

महासंघले खेल क्षेत्रका लागि तत्काल राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा खोप केन्द्र स्थापना गर्न माग गरेको छ। उसले खेलाडी, खेल प्राविधिक र सम्पूर्ण खेलकर्मीलाई परिचयपत्रका आधारमा खोप उपलब्ध गराउन माग गरेको छ।

‘आजीवन राष्ट्रिय झण्डालाई पहिलो प्राथमिकतामा राखेर हिंडने खेलाडी, खेल प्राविधिक तथा समग्र खेलकर्मीहरुको जीवन रक्षाका खातिर यस महासंघले समन्वय तथा सहजीकरण गर्ने गरी परिचयपत्रको आधारमा काठमाडौं उपत्यकामा ५ हजार तथा प्रदेश र जिल्लामा समेत आवश्यकता अनुसार कोरोनाविरुद्ध भ्याक्सिन उपलब्ध गराइयोस्’ महासंघका अध्यक्ष रमेश पौडेलले पठाएको पत्रमा लेखिएको छ ।

पछिल्ला दिनमा विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्टको असरबाट नेपाल आक्रान्त बनेको भन्दै यसको असरबाट हुनसक्ने सम्भावित जोखिम र क्षतीलाई न्युनिकरण गर्नका लागि सहयोग पुर्याउने उद्देश्यले ‘नेकोसको आव्हानः कोभिड–नो भिड’ भन्ने नाराका साथ राष्ट्रिय अभियानको सञ्चालन गरिरहेको समेत जनाएको छ ।

Facebook Comments Box