°
, May 29, 2023 in

क्यान कार्यसमितिलाई निलम्बन गर्न राखेप छानविन समितिको सुझाव

SHARE:

नेपाल टि–२० लिगमा फिक्सिङ लगायतको विवादका विषयमा छानविन गर्न बनेको समितिले नेपाल क्रिकेट संघ (क्यान)को वर्तमान कार्यसमितिलाई विघटन गर्न सुझाव दिएको छ।

नेपाल टी–२० लिगमा सट्टेबाजी, सम्भावित फिक्सिङ, श्रम स्वीकृतिविना विदेशी खेलाडी खेलाइएको तथा खेलाडीले पारिश्रमिक नपाएका विषयमा धेरै प्रश्न उठ्न थालेपछि राखेपले पुस २१ गते कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो ।

समितिले आज प्रतिवेदन राखेप सदस्यसचिव टंकलाल घिसिङलाई बुझाएको छ। प्रतिवेदनमा नेपाल क्रिकेट संघले विदेशी कम्पनी वा संस्थालाई आफ्नो साझेदार बनाउनुअघि नियामक निकायसँग सहमति लिएको नदेखिएका कारण कारबाहीको सिफारिस गरेको छ।

खेलकुद ऐनको दफा २८ (ट०मा कुनै विदेशी संघ संस्थासँग खेलकुदसम्बन्धी विषयमा समझदारी गर्दा मन्त्रालयको सहमति लिनुपर्ने उल्लेख छ । सोही आधारमा क्यानमाथि खेलकुद विकास ऐनको दफा २९ आकर्षित हुने छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

सो दफा २८ अनुसारको व्यवस्था पालना नगर्ने खेल संघले निश्चित अवधिका लागि निलम्वन, कार्यसमिति भंग गर्नेदेखि राखेपबाट संघको दर्ता खारेजीसम्मको कारबाही ब्यहोर्नुपर्नेछ।

समितिले सेभेन थ्री स्पोर्टससँगको सम्झौता तत्काल खारेज गर्न क्यानलाई निर्देशन दिन समेत सुझाव दिएको छ । प्रतियोगितामा शंकास्पद एवं अस्वभाविक गतिविधिका कारण फिक्सिङ हुने सम्भावनाका बिषयमा अनुसन्धान गर्ने आधिकारिक निकाय नेपाल प्रहरीको सीआईबीबाट भइरहेको भन्दै खेलकुद कानूनअनुसार प्रहरी अनुसन्धानमा सहयोग गर्न समितिले सुझाव दिएको छ ।

SHARE: