बंगलादेशले जित्यो साफ यू–१८ महिला च्याम्पियनसिपको उपाधि, नेपाल उपविजेतामै सीमित

भुटानमा भएको साफ यू–१८ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा आइतबार साँझ भएको खेलमा नेपाललाई १–०ले पराजित गर्दै बंगलादेशले उपाधि जितेको छ ।

सेमिफाइलनमा भारतलाई पराजित गर्दै फाइनलमा पुगेको नेपाल बंगलादेशसँग पराजित हुँदै उपविजेतामै समीति भयो । साफ यू–१८ च्याम्पियनसिपमा बंगलादेशसँग नेपालको यो दोस्रो हार हो ।

बंगलादेशलाई उपाधि दिलाउन मसुरा पर्विनले एकमात्र गोल गरिन् । उनले खेलको ४९औँ मिनेटमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् ।

मसुराले नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै सिक्स यार्ड बक्सबाटै बंगलादेशलाई अग्रता दिलाइन् । एक गोलले पछाडि परे पनि नेपालले बंगलादेशमाथि दबाब राखेको थियो । नेपालले खेलअवधि भर थुप्रै गोलका मौका बनाए पनि गोल गर्न नसक्दा नेपालले उपविजेतामा चित्त बुझायो ।

६ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल समूह ‘बी’ मा थियो । समूह बीमा नेपालसहित बंगलादेश र पाकिस्तान थिए । नेपालले समूहको पहिलो खेलमा पाकिस्तानलाई १२–० को फराकिलो अन्तरले पारजित गरेको थियो भने समूहको अन्तिम खेलमा बंगलादेशसँग २–१ ले पराजित भएको थियो ।

समूह बीबाट उपविजेताका रुपमा सेमिफाइन प्रवेश गरेको नेपाल अन्तिम चारमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै फाइलनमा प्रवेश गरेको थियो ।