महिला साफ च्याम्पियनसिप फाइनल : सावित्राको कीर्तिमान गोलमा पहिलो हाफ १–१को बराबरीमा

विराटनगरमा जारी पाचौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइलनमा अहिले चिरपरित प्रतिद्वन्द्वी नेपाल र भारत अहिले उपाधिका लागि भिडिरहेका छन् ।

घरेलु मैदानमा पहिलो पटक साफ च्याम्पियन बन्ने लक्ष्यका लिएको नेपालले प्रतियोगिताको सबैभन्दा बलियो टिम भारतलाई पहिलो हाफमा १–१ गोलको बराबरीमा रोकेको छ ।

विराटनगरस्थित सहिद रंगशालामा जारी खेलमा भारतले सुरुवाती अग्रता लियो । २६ औं मिनेटमा डालिमा छिपरले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।

एक गोलले पछि परेको नेपालले ३३ औं मिनेटमा नेपाली मुख्य स्ट्राइकर सावित्रा भण्डारीका कीर्तिमानी गोलसँगै खेल बराबरीमा ल्यायो । उनले गीता राईको पासमा हेडिङमार्फत् गोल गरेकी थिइन् ।

खेलको पहिलो हाफमा नेपालले भारतलाई दबाबमा राखेको छ । पहिलो हफाको अन्तिम मिनेटमा सावित्रा दोस्रो गोल गर्नबाट चुकिन । सावित्राको प्रहार भारतकी गोलरक्षकले उत्कृष्ट बचाउ गरिन् ।

भारतविरुद्धको यो गोलसँगै सावित्रा नेपालका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडी बनेकी छिन् । जारी प्रतियोगितामा कुल ४ गोल गरेकी सावित्रा भण्डारी अर्थात् साम्बाले नेपाली राष्ट्रिय टिमबाट २६ गोल गरेकी छिन् ।

फाइनलअघि नेपाली महिला टिमकी पूर्वकप्तान जमुना गुरुङ र सावित्रा संयुक्तरुपमा शीर्ष स्थानमा थिए । दुवैले २५–२५ गोल गरेका थिए । जमुना साफ च्याम्पियनसिपको नेपाली टिममा छैनन् । प्रतियोगिता अघि साम्बाले यही महिला साफ च्याम्पियनसिपबाटै जमुनाको कीर्तिमान तोड्ने बताएकी थिइन् ।

तस्बिर : गोलनेपाल टडकम