नेपाल घोडचढी संघले पायो एसियन फेडेरेसनको सदस्यता

नेपाल घोडचढी (इक्वेस्ट्रियन) संघले एसियन इक्वेस्ट्रियन फेडेरेसन (एईएफ) को अस्थायी सदस्यता प्राप्त गरेको छ । एसियाका क्रियाशील २८ देश सम्मिलित एईएफको भर्चुअल साधारणसभाले नेपाललाई अस्थायी सदस्यता दिने निर्णय गरेको हो ।

एजेन्डा १५.१ अनुसार नेपाललाई सदस्यता दिने निर्णय भएको हो। नेपालसहित श्रीलंकाले पनि सदस्यता पाएको छ । गत नोभेम्बरमा अन्तर्राष्ट्रिय इक्वेस्ट्रियन फेडेरेसन (एफआईआई) को महासभाले नेपाल घोडचढी संघलाई अस्थायी सदस्यका रूपमा मान्यता दिएको थियो ।

एसियन र अन्तर्राष्ट्रिय फेडेरेसनका प्रतिनिधिबाट नेपाल भ्रमण भएपछि पूर्ण सदस्यको रूपमा मान्यता दिइने अपेक्षा रहेको संघका अध्यक्ष रवि राजकर्णिकारले जानकारी गराए ।

कोभिड–१९ को स्थिति सहज भएपछि घोडचढीका अन्तर्राष्ट्रिय प्रतिनिधिले नेपाल भ्रमणमा गर्ने उनले बताए । उनका अनुसार नेपाल घोडचढी संघलाई अन्तर्राष्ट्रिय टेन्ट पेगिंग महासंघ (आईटीपीएफ) को पूर्ण सदस्यको रूपमा अनुमोदन गरिसकेको छ ।

Facebook Comments Box