ओमानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरको समूहको अन्तिम खेलमा नेपालले आज क्यानडाको सामाना गर्दै छ । खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली सयम अनुसार अपराह्न ३ः४५ बजे सुरु हुनेछ ।
क्यानडाविरुद्ध मैदान उत्रँदा नेपालको मनोबल उच्च हुनेछ। लागतार दुई खेल जितेकाले नेपालको मनोबल उच्च छ। यता, क्यानडा पनि नेपाललाई हराउँदै सेमिफाइनल पुग्ने योजनामा छ। त्यसैले खेल प्रतिस्पर्धात्मक हुने छ।
पहिलो दुई खेल जितिसकेकाले नेपाल बलियो स्थितिमा छ तर ढुक्क हुने अवस्थामा छैन । क्यानडा र ओमानले १–१ खेल जितेका छन् । सोमबार समूह चरणको अन्तिम दिनको खेलमा नेपालले क्यानडा र ओमानले फिलिपिन्सको सामना गर्दै छन् ।
नेपालले ओमानलाई ३९ र फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरेको थियो । फिलिपिन्सलाई पहिलो खेलमा १ सय १८ रनले पराजित गरेको क्यानडा शनिबार ओमानसँग ९ विकेटले घुँडा टेकेको थियो । ओमानले कमजोर फिलिपिन्ससँग खेल्ने हुनाले मुख्यतः नेपाल र क्यानडाको खेलले समूह ‘बी’ को समीकरण तय गर्नेछ ।
नेपाल बलियो स्थितिमा छ । क्यानडाभन्दा ३७ रनले र ओमानभन्दा झन्डै १ सय ५० रनले अगाडि रहेको नेपाल सेमिफाइनलको दाबेदार छ । क्यानडाले नेपाललाई उछिन्न ३७ भन्दा माथिको रनले वा नेपालले दिएको लक्ष्य १५ देखि १६ ओभरभित्र पूरा गर्नुपर्नेछ ।