नेपाल अत्यन्तै मेहनती टिम हो, हामी नेपालको सम्मान गर्छौंः अस्ट्रेलियाका प्रशिक्षक

अस्ट्रेलियाको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाल निकै मेहनती टिम भएको टिप्पणी गर्दै आफु नेपालविरूद्ध खेल्न निकै उत्साहित रहेको बताएका छन् ।

‘उनीहरूले फरक शैलीमा खेलिरहेका छन्। धेरै पछाडिबाट खेल्ने प्रयास गरिरहेका छन्। प्रशिक्षक अलमुताइरीले धेरै राम्रो काम गरिरहनु भएको छ र हामी नेपाललाई सम्मान गर्दछौं । नेपाली एकदमै मेहनती टिम हो,’ अस्ट्रेलियाका प्रशिक्षक आर्नोल्डले भने।

प्रशिक्षक आर्नोल्डले नेपालविरुद्धको खेलमा आफ्नो टिममा हेरफेर गर्ने पनि बताए । ‘हामीसँग ४ गोल गोलकिपरसहित २९ जनाको टोली छ। हामी टिममा केही परिवर्तन गरेर नेपालविरुद्ध पृथक टिम उतार्नेछौं,’ आर्नोल्डले बताए ।

‘मेरो लागि खेलमा प्रदर्शन महत्वपूर्ण छ (नतिजा भन्दा) । मैले नेपालविरुद्ध आफ्ना खेलाडीबाट राम्रो प्रदर्शनको अपेक्षा गरेको छु,’ उनले थपे ।
नेपालले विश्वकप छनोटको आफ्नो अन्तिम खेल अस्ट्रेलियाविरुद्ध जाबर अल–अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार भोली (शुक्रबार) ९ः४५ बजे खेल्दैछ ।

Facebook Comments Box