खेलकुदमा बजेट बढाउन खेलकुद महासंघ माग, अर्थमन्त्रीलाई बुझायो २१ बुँदे ज्ञापनपत्र

एमाले निकट नेपाल खेलकुद महासंघले खेलकुद क्षेत्रको बजेट बढाउन माग गरेको छ। महासंघले आगामी बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउन माग गर्दै बुधबार अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापनपत्र समेत बुझाएको छ।

महासंघले बुझाएको २१ बुँदे ज्ञापनपत्रमा बजेट बढाउन माग गरिनुका साथै खेल र खेलाडीको हकहितको विभिन्न माग पनि राखेको छ। महासंघले कुल बजेटको न्युनतम १ प्रतिशत बजेट खेलकुदका लागि छुट्याउन माग गरेको छ।

यस्तै एसियन, ओलम्पिकका पदक विजेता खेलाडीहरुलाई सहज जीवनयापनका लागि स्थायी रोजगारीको व्यवस्था गर्न, सागका पदक विजेताहरुको प्रोत्साहन भत्ताको वृद्धि गर्न, निजामती, प्रहरी, सेना, संस्थान, निगम आदिमा कर्मचारी व्यवस्थापन तथा पदपूर्ति गर्दा खेलकुद क्षेत्रको लागि समेत छुट्टै कोटाको व्यवस्था गरिनुपर्ने माग महासघले राखेको छ।

अध्यक्ष रमेश पौडेल र महासचिव मेघराज पौडेलले हस्ताक्षर गरेको २१ बुँदे ज्ञापन पत्रमा खेलाडी, खेल प्राविधिक तथा अफिसियलहरुको १० लाख बराबरको दुर्घटना एवं जीवन बीमाका लागि आवश्यक रकम विनियोजन गर्न, सार्वजनिक तथा सामुदायिक विद्यालय तथा महाविद्यालयहरुमा खेलकुद शिक्षकको अनिवार्य व्यवस्था गर्न माग गरिएको छ ।

यस्तै, राष्ट्रिय खेलकुद परिषद अन्र्तगत सञ्चालनमा रहेको खेलाडी कल्याणकारी कोषलाई बृद्धि गरी १० करोड पु¥याइ प्रभावकारी रुपमा परिचालन गर्न र खेलाडी, खेल प्राविधिक, खेलकर्मी तथा राष्ट्रिय खेलकुद परिषदका कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न पनि महासंघले माग गरेको छ।

महासंघले सम्पूर्ण खेलाडी, खेल प्राविधिक, राष्ट्रिय संघका पदाधिकारी तथा सदस्यहरुलाई तुरुन्त विशेष व्यवस्थाका साथ कोरोनाविरद्धको खोप लगाउने व्यवस्था मिलाउन पनि माग गरेको छ।