साफको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको नेपाल उपाधिबा वञ्चित भएको छ। शनिबार राति माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको फाइनलका साफका सर्वाधिक सफल टिम भारतसँग ३(०ले पराजित हुँदै नेपाल उपाधिबाट वञ्चित भएको हो।
यता, भारतको यो आठौं उपाधि हो । उसले प्रतियोगिताका १३ संस्करणमध्ये १२ फाइलन खलेको छ। भारी वर्षाबीच भएको फाइनलमा नेपालले पहिलो हाफमा भारतलाई बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफमा ३ गोल गर्दै भारतले उपाधिमाथि कब्जा जमायो।
भारतका लागि सुनील क्षेत्रीले ४९औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाए। नजिकको दूरीमा प्राप्त क्रसलाई उनले सजिलै हेडबाट पहिलो गोल गरे । यो भारतका लागि उनको ८० औं गोल रह्यो ।
पहिलो गोल खाएर सम्हालिन पनि नपाएको नेपालविरुद्ध सुरेश सिंहले ५० औं मिनेटमा दोस्रो गोल थपे र उनले यसका लागि पेनाल्टी एरियाबाट शक्तिशाली प्रहार गरेका थिए । यस्तै खेलको ९० औं मिनेटमा सब्स्टिच्युट साह अल्दुलले तेस्रो गोल गरे ।
राउन्ड रोबिनको आधारमा चलेको प्रतियोगिताको लिग चरणका सुरुआती दुई बराबरी खेलेर कमजोर सुरुआत लिएको भारतले त्यसपछि भने लगातार खेल जितेको थियो । फाइनलमा प्राप्त जित उसको लगातार तेस्रो थियो र यी तीनै खेलमा उसका लागि निश्चित जित आवश्यक थियो । यस्तोमा भारतले प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्दै उपाधि चुमेको छ ।
यो नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतइरीको नेपालका लागि अन्तिम खेल हो। उनले नेपाल साफ च्याम्पियनसिपको फाइनल पुगेलगत्तै प्रतियोगितापछि राजिनामा दिन घोषणा गरेका थिए । र, उनी माल्दिभ्सबाटै कुवेत फर्कने छन्।