दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपालमा साफ च्याम्पियनसिप आयोजना नगर्ने निर्णय गरेको छ। पछिल्लो समय नेपालमा कोरोनाभाइरस संक्रमणको दर बढेका कारण साफले नेपाललाई च्याम्पियनसिप आयोजनाको अनुमति नदिएको हो।
यससँगै माल्दिभ्सले साफ च्याम्पियनसिप आयोजना गर्ने टुंगो लागेको। साफले अक्टोबर १ देखि १३ सम्म आयोजना हुने च्याम्पियनसिपको जिम्मेवारी माल्दिभ्सलाई दिएको हो।
कोभिड–१९ को अवस्था नेपालमा भन्दा माल्दिभ्समा राम्रो रहेकोले उसलाई अनुमति दिइएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताएका छन्। १३औं संस्करणको प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंकाले सहभागिता जनाउने निश्चित भइसकेको छ भने भुटानले तीन दिनपछि निर्णय गर्नेछ।
यसअघि बंगलादेशले प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको थियो। कोभिड–१९ लाई कारण देखाउँदै उसले आयोजना गर्न नसक्ने बताएपछि नेपाल र माल्दिभ्सले आयोजना अनुमतिका लागि प्रस्ताव गरेका थिए।
एन्फाले १० करोड खर्चमा साफ आयोजना गर्ने विस्तृत प्रस्ताव पेश गरेको थियो। जसमध्ये पाँच करोड सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो।
हाल नेपालको राष्ट्रिय फुटबल टिम साफ च्याम्पियनसिपको तयारीमा जुटिसकेको छ। ३७ खेलाडी बन्द प्रशिक्षणमा सहभागी छन्। साफ अघि नेपालले भारतसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ। मैत्रिपूर्ण खेल भदौ १७ र २० मा हुनेछ।