नेपालले सन् २०२३ मा तीन ठूला अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा चुनौती पेस गर्न सक्नेछ । यी प्रतियोगिता छन्, १९ औं एसियाली खेलकुद, छैटौं एसियाली इन्डोर मार्सल आर्ट्स र दोस्रो एनोक वर्ल्ड बिच गेम्स रहेका छन् ।
सन् २०२३ मै पाकिस्तानमा १४ औं दक्षिण एसियाली खेलकुद हुने कार्यक्रम रहे पनि त्यसबारे केही निश्चित भएको छैन।
एसियाली खेलकुद चीनको हाङ्झाउमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुनेछ । एसियाली इन्डोर मार्सल आर्ट्स थाइल्यान्डको बैंकक र चोनबुरीमा नोभेम्बर १७ देखि २६ सम्म हुनेछ । एनोक वर्ल्ड बिच गेम्स अगस्ट ५ देखि १२ सम्म हुने तालिका छ । दक्षिण एसियाली खेलकुदबारे अन्तिम निर्णय हुन बाँकी छ ।
नेपाल ओलम्पिक कमिटीको शुक्रबार सम्पन्न १३ औं साधारणसभाको अवसरमा यी अन्तर्राष्ट्रिय प्रतियोगिताबारे चर्चा गरिएको हो । कमिटीका अध्यक्ष तथा पयर्टनमन्त्री जीवनराम श्रेष्ठले एनओसीको भावी नीति र कार्यक्रमबारे प्रकाश पारे । बन्द सत्रमा कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले सन् २०२२ को प्रगति विवरण पेस गर्दै भावी कार्यक्रमबारे बताएका थिए ।
कोषाध्यक्ष रतनकुमार टण्डनले आर्थिक वर्ष ०७८/०७९ को आर्थिक विवरण पेस गर्दै सन् २०२३ को अनुमानित बजेट प्रस्तुत गरे । कमिटीका केन्द्रीय सदस्य गोपालसुन्दर लाल कक्षपतिले एनओसी अवार्ड र कार्यक्रमबारे प्रकाश पारे ।
उद्घाटन सत्रमा कमिटीका मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधान र सल्लाहकार शरतसिंह भण्डारीलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा सम्मान गरिएको थियो ।