पुलिस पिएम कपको शीर्ष स्थानमा, ललितको घातक बलिङमा एपिएफ ८७ रनमै अलआउट

22 Jan, 2024

विभागीय टिम नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ। प्रतियोगिताका लगातार चौथो जित निकाल्दै पुलिस शीर्ष स्थानमा उक्लिएको हो।

स्पिनर ललित राजवंशीले घातक बलिङ गरेपछि अर्को विभागीय टिम एपिएफलाई ५८ रनले हराउँदै पुलिस शीर्ष स्थानमा उक्लिएको हो।

प्रतियोगितामा पुलिस अजराजित पुलिसको ४ खेलमा ८ अंक छ। दोस्रो स्थानको बागमतीको ६ खेलमा ८ अंक नै छ। एपिएफ भने ४ खेलमा ४ अंक नै जोड्दै छैठौं स्थानमा छ।

भैरहवामा पुलिसले दिएको १४६ रनको लक्ष्य पछ्याएको एपिएफ ललितको घातक बलिङमा ३४ ओभरमा ८७ रनमै अलआउट भयो । उसका लािग सन्दीप जोराले सर्वाधिक २५ रन बनाउँदा अमरसिंह रौटेलाले २३ र प्रज्वल शाहीले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

एपिएफको इनिङ धरासायी बनाउने क्रममा ललितले ५ विकेट लिए। उनले ८ ओभरमा ४ मेडनसहित ८ रन मात्र खर्चिए। यस्तै, रसिद खानले २ तथा सागर ढकालले १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा अलआउट हुँदै १४५ रन बनायो। उसका ओपनर दिलिप नाथले ६३ बलमा ५ चौका र १ छक्का मद्दतमा सर्वाधिक ४४ रन बनाए।

यस्तै, अर्जुन साउदले ५८ बलमा ३१ रन बनाउँदा शंकर रानाले ४२ बलमा २२ र कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बमला १५ रन बनाए। एपिएफका भुवन कार्कीले ३ तथा रमेश कुर्मी र अमरसिंह रौटेलाले समान २ विकेट लिए।