ए डिभिजन लिगमा पुलिस र हिमालयन शेर्पाले खेले बराबरी

सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले बराबरी खेलेका छन्। बुधबार दिउँसो भएको खेलमा नेपाल पुलिस र हिमालयन शेर्पाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलमा हिमालयनका कप्तान विश्वास श्रेष्ठले गोल गरे भने पुलिसका लागि सुमन लामाले गोल गरे। खेलको पहिलो मिनेटमा कप्तान विश्वासले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाए । उनले मोइनुद्दिनको पासमा विश्वासले खेल सुरु भएको ५३ सेकेण्डमा गोल गरेका थिए। यो जारी लिगका सर्वाधिक छिटो भएको गोल पनि हो।

पहिलो हाफमा १ गोलले पछि परेको पुलिसले दोस्रो हाफमा बराबरी गोल फर्कायो । ६०औं मिनेटमा सुमन लामाले रवि पासवानको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्यए। सोबेला हिमालयन शेर्पा १० खेलाडीमा थियो। हिमालयन शेर्पाका डिफेण्डर उलरिच सिवे ५७ औं मिनेटमा घाइते भएर मैदान बाहिर निस्केका थिए। अर्का खेलाडी मैदान प्रवेश नगर्दै पुलिसले गोल फर्कायो।

बराबरीपछि पुलिसले अपराजित यात्रा कायम राख्दै ३ खेलबाट ५ अंक जोडेको छ । पुलिसले पहिलो खेलमा आर्मीसंग बराबरी खेलेको थियो भने दोस्रो खेलमा जावलाखेललाई १–० ले पराजित गरेको थियो। हिमालयन शेर्पाको ३ खेलबाट २ अंक मात्र छ ।