विभागी टिम नेपाल पुलिस क्लबले पहिलो संस्करणको नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। वीरगञ्जस्थित नारायणी रंगशालामा शनिबार भएको फाइनलमा घरेलु टोली पर्सा ११ लाई १ सय रनको फराकिलो अन्तरले हराउँदै पुलिस क्लबले उपाधि जितेको हो।

पहिला ब्याटिङ गर्दै पुलिसले दिएको १४६ रनको लक्ष्य पछ्याएको पर्सा ४५ रनमै अलआउट भयो। कप्तान सन्दीप लामिछानविना मैदान उत्रिएको पर्साका लागि अनिल साहले सर्वाधिक १३ रन बनाए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा स्कोर बनाउने सकेनन्।

पर्सालाई सस्तैमा समेट्ने क्रममा पुलिसका सागर ढकालले ४ विकेट लिए भने ललित राजवंशी र रसिद खानले पनि समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पुलिसले करण केसीको विस्फोटक ब्याटिङ मद्दतमा ८ विकेट गुमाउँदै १४५ रन बनायो। अन्तिम ओभरमा पवन सर्राफलाई ४ छक्का प्रहार गरेका उनले १७ बलमा ५ छक्का प्रहार गर्दै ४० रन बनाए।

यस्तै, अर्जुन साउदले २६, शंकर रानाले १९, आरिफ सेख र दिलिप नाथले समान १६ रनको योगदान दिए। पर्साका सिफउल्लाह अन्सारी र पवर्न सर्राफले समान २ विकेट लिए।

प्रतियोगितामा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लब तेस्रो भयो। अप्रत्यासित रुपमा पर्सासँग पराजित भएपछि फाइलन पुग्न सकेको आर्मी भारतीय टिम वन्डरस क्लब नोयडालाई हराउँदै तेस्रो भयो।

Back To Top