काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) प्रतियोगितामा आज ललितपुर सिटी एफसी र वीरगन्ज युनाइटेड एफसीबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको ललितपुरसिटी एफसी र अन्तिम नवौं स्थानमा रहेको नवप्रवेशी टोली वीरगन्ज युनाइटेड एफसीबीच मंगलबार हुने प्रतिस्पर्धामा जारी खेलमा अंकविहीन बनेको वीरगन्ज युनाइटेड आजको खेलबाट पहिलो जित निकाल्न चाहन्छ।

यसअघि दुई खेल खेलेको युनाईटेडले दुवै खेलमा जित गुमाएको छ। दुवै खेलमा राम्रो प्रदर्शन गरे पनि वीरगन्ज युनाइटेड धनगढी एफसी र एफसी चितवनसँग समान २–१ ले पराजित भएको थियो। युनाइटेडले आज तेस्रो खेल खेल्दै पहिलो जितको खोजिमा छ।

यता ललितपुर एफसीले मंगलबार आफ्नो चौथो खेल खेल्दै छ । ३ खेल खेलेको ललितपुर एक जित र दुई बराबरीबाट ५ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ । ललितपुरलाई आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने मौका छ । हाल ३ खेलबाट ७ अंकसहित धनगढी शीर्ष स्थानमा छ ।

Back To Top