नेपाल टि–२० लिगमा विराटनगर सुपर किंग्सले पहिलो जित निकालेको छ। प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा विराटनगरले बुधबार पोखरा एभेन्जर्समाथि ६ विकेटको जित निकाल्यो ।
तीन खेलमा विराटनगरको यो पहिलो जित हो। यसअघि ऊ लुम्बिनी अल स्टार र जनकपुर रोयल्ससँग पराजित भएको थियो। यता, पोखरा भने प्रतियोगितामा अझै जितबिहीन छ। प्रतियोगितामा ४ खेल खेलेको उ चारै खेलमा पराजित छ। ऊ काठमाडौं नाइट्स, लुम्बिनी, जनकपुर पराजित भएको थियो।
पहिलो खेल सुपर ओभरमा गएपछि १९ ओभरमा झारिएको खेलमा पहिला ब्याटिङ गर्दै पोखराले दिएको १४० रनको लक्ष्य विराटनगरले १७.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। उसका लागि हुसैन टलटले अर्धशतकीय योगदान दिए। उनले ३० बलमा ४ चौका १ छक्का प्रहार गर्दै ५० रन बनाए ।
विराटनगरलाई कप्तान आन्द्रे म्याकार्थी र अर्जुन साउदले ४७ रनको साझेदारी गर्दैै राम्रो सुरुआत दिलाएका थिए। अर्जुनले २५ र म्याकार्थीले २१ रन बनाए । यस्तै, पृथु बास्कोटा र विवेक यादवले समान ८ बल खेल्दै १५ र १४ रनको योगदान दिए।
पोखराका कुशल मल्ल र शरद भेषाकवरले समान २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको पोखराले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १३९ रन बनायो । उसका लागि कुशल मल्ले १८ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ३७ रन बनाउँदा सिद्धान्त लोहनीले १९ बलमा ३ छक्का प्रहार गदैृ २६ रन बनाए ।
यस्तै, उपुल थरंगाले १९, सुमित महर्जनले १२ र प्रतिश जिसीले ११ रनको योगदान दिए। विराटनगरका राज नान्नन र टलटले समान २ विकेट लिए भने नन्दन यादव, म्याकार्थी र साहब आलमले समान १ विकेट लिए।
प्रतियोगिता अन्तर्गत बिहीबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर सुपर किंग्स तथा जनकपुर रोयाल्स र फार वेस्ट युनाइटेड भिड्ने छन्।