नेपाल क्रिकेट संघ (क्यन)ले पहिलो पटक आयोजना गरेको नेपाल टि–२०मा फिक्सिङको आशंका गरिएको छ। काठमाडाैं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि फिक्सिङकाे प्रस्ताव आएकाे बताएका छन्।
मंगलबार भएको विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सबीचको खेलको पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ले आफ्नो टिमका एक खेलाडीलाई फिक्सिङका प्रस्ताव आएकाे बताए। उनले त्यस्तो प्रस्ताव अस्वीकार गर्दै त्यसबारे सम्बन्धित निकायलाई जानकारी गराएको बताए।
स्पट फिक्सिङकै आशंका गर्दै कमेन्टेटर सचिन तिमल्सेनाले लिग छाडेका छन्। लिगका सुरुवाती दश दिन कमेन्ट्री गरेका उनले स्पट फिक्सिङको आशंका गर्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै लिग लागेको घोषणा गरेका हुन्। सचिनले लिगको दोस्रो चरणको खेल चलिरहँदा लिग फिक्सरको हातमा दाबी गरेका छन्।
‘कतिपय घटना गर्दा यो लिग विवादित मात्र होइन, क्रिकेटलाई गलत तरिकाले प्रयोग गरेर फिक्सिङ गराउने क्रियाकलाप मैले देखेँ,’ उनले भिडियोमा भनेका छन्, ‘आजकाल म्याच फिक्सिङ हुँदैन स्पट फिक्सिङ हुन्छ।’ स्पट फिक्सिङले खेलको नतिजामा कुनै असर नगर्ने बताउँदै खेलको दौरानमा फिक्सरले भनेनुसारको केही काम हुने उनले उल्लेख गरेका छन्।
फिक्सिङका लागि कतिपय खेलाडी प्रयोग गरिएको समेत उनको दाबी छ। उनले भनेका छन्, ‘केही टिममा खासै नाम नचलेका विदेशी खेलाडीलाई कप्तानी गराएको देखेँ। त्यो नै सुरूमा अचम्म लाग्दो कुरा थियो । सिकन्दर राजाजस्ता खेलाडीलाई खेल्दाखेल्दै पनि ड्रप गर्नु तथा बलिङ धार नभएका खेलाडीलाई बलिङ गर्न लगाउने, सोमपाललाई बलिङ नदिएर खासै प्रभाव नभएको बलरलाई रन खानका लागि बलिङ गर्न दिइएको थियो।’
उनले नेपाली खेलाडीलाई समेत फिक्सिङमा प्रयोग गरिएको दाबी गरेका छन्। ‘सबैभन्दा पीडादायी क्षण के रह्यो भने एक जना नेपाली राष्ट्रिय टिमबाट खेलिसकेको अलराउन्डर छन्, उनले नो बल फाले। त्यति लामो नो बल व्यवासायिक क्रिकेटरले गर्नै सक्दैन,’ उनले भनेका छन्।
फिक्सिङको आशंका गर्दै लिगका लागि खटिएका एन्टी करप्सन युनिटका व्यक्तिलाई उजुरी गरेको पनि उनको भनाइ छ। ‘लिगमा हदैसम्मको बदनियत देखिन्छ। मैले भएभरको सबैसँग कुरा गरे। नेपाल टी–२० फिक्सरको हातमा गएको छ। यसले नेपाली क्रिकेटलाई बिगार्छ। कमन्ट्री गर्दा मैले हरेक बल नियालेर हेरेकाले यस्तो भनिरहेको छु,’ उनको भनाइ छ।