काठमाडौंमा जारी नेपाल टि–२० लिगमा लुम्बिनी अल स्टार्रले आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म निरन्तरता दिएको छ। बुधबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा लुम्बिनीले सुपर ओभरमा फार वेस्ट युनाइटेडलाई हरायो।
१३८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सकेपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा पहिला ब्याटिङ गरेको लुम्बिनीले १९ रन बनायो । २० रनको लक्ष्य पछ्याएको फार वेस्टले १० रन मात्र बनाउन सक्यो ।
त्यसअघि १३८ रनको लक्ष्य पछ्याएको लुम्बिनीका लागि गुल्शन झाले ४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ३६ रन बनाए भने ओपनर लहिरु मिलन्थाले ३४ र विपुल शर्माले ३१ रन योगदान गरे ।
फार वेष्टका करण केसी र शेर मल्लले समान २ विकेट लिँदा रासिद खान, उमाइर अली, हशमतुल्लाह शाहिदी र भुवन कार्कीले समान १ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको फार वेष्ट युनाइटेडले ६ विकेट गुमाएर १३७ रन बनाएको थियो । फरा वेष्टका लागि ओपनर देव खनालले सर्वाधिक ४८ रन बनाए।
यस्तै कप्तान हशमतुल्लाह शाहिदीले ३२, भीम सार्कीले १५ तथा हासिम अन्सारी र विनोद भण्डारीले समान ११ रन जोडे। लुम्बिनीका साड्ली भान साल्कविकले २ विकेट लिँदा हर्मित सिंह, किशोर महतो र सागर ढकालले समान १ विकेट लिए।
लगातार चौथो जित निकालेको लुम्बिनी ८ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । ३ खेलमा १ जित र २ हारको सामाना गरेको फार वेस्ट २ अंक जोड्दै चौथो स्थानमा छ।