नेपाल टि–२० लिगको उद्घाटन खेल काठमाडौं टाइटन्स विजयी भएको छ। शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा काठमाडौंले पोखरा एभेन्जर्समाथि २७ रनको जित निकाल्यो।
पहिला ब्याटिङ गर्दै काठमाडौंले दिएको १६३ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो । सुस्हुका कारण खेल केही ढिला सुरु भएपछि खेल १ ओभर घटाइएको थियो।
पोखराका लागि अनुभवी श्रीलंकन ब्याट्सम्यान उपुल थरंगाले सर्वाधिक ४४ रन बनाए । उनले ३४ बलमा ६ चौका प्रहार गरे। यस्तै, आसिफ सेखले २० तथा अमीर हम्जा र अभिमन्यू मिथुनले समान १८ रन बनाउँदा सिद्धान्त लोहनीले १३ रन बनाए।
काठमाडौंका अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए भने बसिर अहमदले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । युवा स्पिनर अनिल खरेलले पनि १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको काठमाडौंले अफगानी अलराउन्डर अज्मतुल्लाह ओमरजाइले विस्फोटक ब्याटिङ मद्दतमा निर्धातिर ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनायो ।
खराब सुरुआत गरेको काठमाडौंले एक समय ४८ रन बनाउँदा आफ्न महत्वपूर्ण ५ विकेट गुमाएको थियो । त्यसपछि ब्याटिङमा आएका ओमरजाइ र सुनाम गौतमले काठमाडौंको इनिङ सम्हालेका थिए।
विस्फोटक ब्याटिङ गरेका ओमरजाइले ४२ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै नटआउट ८५ रन बनाए । सुनामले २८ बलमा २७ रन बनाए । यी दुईले छैटौं विकेटका लागि ११४ रनको उत्कृष्ट पारी खेलेका थिए।
पोखराका जाहिर खान र प्रतिश जिशीले समान २ विकेट लिँदा मौसम ढकालले १ विकेट लिए।