पहिलो टि–२० सिरिजमा नेपालको क्लिनस्विप, सीताकाे कीर्तिमानी ब्याटिङमा नेपाल १०९ रनले विजयी

पहिलो टि–२० अन्तर्राष्ट्रिय सिरिज खेलेको नेपाली महिला क्रिकेट टिमले सिरिजमा क्लिनस्विप गरेको छ। तीन खेलको टि–२० सिरिजको अन्तिम खेलम कतारलाई १०९ रनको फराकिलो अन्तरले हराउँदै नेपालले टि–२० सिरिजमा क्लिनस्विप गरेको हो।

यसअघि नेपालले पहिलो ११९ र दोस्रो खेल ६१ रनले जितेको थियो । टि–२० महिला विश्वकपको एसियन छनोटको तयारीका लागि नेपाली टिमले कतारसँग टि–२० सिरिज खेलेको हो।

सिरिजको अन्तिम खेलमा पहिला ब्याटिङ गर्दै नेपालले दिएको १६५ रनको विशाल लक्ष्य पछ्याएको कतारले २० ओभरमा ७ विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो। उसका लागि अलिना खानले सर्वाधिक १९ रन बनाउँदा कप्तान आयसाले १३ रन बनाइन्।

कतारलाई सस्तैमा रोक्ने क्रममा नेपालका सबनम राई, सरस्वती चौधरी र कप्तान रुबिना क्षेत्रीले समान १ विकेट लिए । कतारका ४ ब्याट्सम्यान रनआउट भएका थिए।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेटको गुमाउँदै १६४ रन बनायो । नेपालका लागि सीता रानामगरले कीर्तिमानी नटआउट ८२ रन जोडिन्। उनले ७२ बलमा ७ चौका प्रहार गरिन्। यो नेपालका लागि व्यक्ति उच्च स्कोर हो।

यस्तै, ज्योति पाण्डेले २४, सरिता मगर १७ र डोली भट्टले १२ रनको योगदान दिए। कतारकी एन्जेलिन मारे, साची ढाटवाल र आयशले १–१ विकेट लिए।

नेपाली टिम टि–२० विश्वकपको एसियन छनोट खेल्ने शुक्रबार नै युएई प्रस्थान गर्नेछ। छनोटमा नेपालले घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।