विश्वकप लिग–२ मा नेपालको पहिलो खेल अमेरिकासँग

आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल, ओमान र अमेरिका सम्मिलित सो प्रतिस्पर्धा ओमानमा आयोजना हुँदैछ।

आईसिसीले आफ्नो आधिकारिक वेबसाइटमार्फत् खेलतालिका सार्वजनिक गर्दै सो जानकारी दिएको हो। नेपालले भदौ २८ गते अमेरिकासँग पहिलो खेल खेल्ने छ। सो खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ मा सुरु हुने छ।

यस्तै, नेपालले दोस्रो खेलमा भदौ २९ गते ओमानको सामना गर्ने छ। नेपालले अमेरिकाविरुद्ध दोस्रो खेल असोज १ गते खेल्नेछ भने ओमानविरुद्धको अन्तिम खेल असोज ३ गते खेल्नेछ तालिका रहेको छ।

सिरिज अघि नेपालले तयारी स्वरुप पपुवा न्युगिनी (पीएनजी) सँग ओमानमै दुईवटा ओडीआई म्याच खेल्ने छ। पिएनजीविरुद्धको पहिलो खेल भदौ २० गते हुनेछ भने र दोस्रो खेल भदौ २३ गते हुनेछ। नेपाली टोली मंगलबार नै ओमान पुगिसकेको छ।

सन् २०२३ को ओडीआई विश्वकपको रोडम्यापका रुपमा रहेको विश्वकप लिग–२ मा नेपालले अहिलेसम्म एक मात्र त्रिकोणात्मक सिरिज खेलेको छ।

२०२० फेब्रुअरीमा नेपालमै भएको नेपाल, ओमान र अमेरिका सहभागी सिरिजपछि नेपालले पहिलोपटक ५० ओभरको अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो।

लिग–२ मा नेपालले चार खेल खेल्दा २ मा जित र २ मा हारको नतिजासहित ४ अंक जोडेको छ। ७ राष्ट्र सम्मिलित लिग–२ को अंकतालिकामा नेपाल छैठौं स्थानमा छ। १० खेल खेलिसकेको ओमान १६ अंकसहित शीर्ष स्थानमा छ ।

लिग–२ मा नेपाल, ओमान र अमेरिकासहित स्कटल्यान्ड, नामिबिया, पिएनजी र यूएईले प्रतिस्पर्धा गर्ने छन्।

लिग-२ मा शीर्ष तीन स्थानमा रहने टोली सन् २०२३ मा भारतमा हुने ओडीआई विश्वकपको ग्लोबल क्वालिफायरमा प्रवेश गर्नेछन् । बाँकी चार टोलीले भने ग्लोबल क्वालिफायर पुग्न पुनस् अर्को अवसर पाउनेछ ।